नयाँ संशोधन प्रस्ताव दर्ता, पूरानो प्रस्ताव फिर्ता

लोकतान्त्रिक मोर्चाद्धारा संसद बहिष्कार

काठमाडौं । आज बसेको व्यवस्थापिका–संसदको बैठकमा सरकारले यसअघि संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गरेको छ ।

संविधान संशोधनको नयाँ प्रस्तावको विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बहिष्कार गर्यो । आगामी बैशाख ७ गते बस्ने गरी बैठक सम्पन्न भएको छ।

मोर्चाले नयाँ संशोधन विधेयक दर्ता गर्ने बेला संसद बहिष्कार गरेको थिएन । संशोधन प्रस्तावमाथिको छलफलमा समेत भाग लिएको थियो। पछि मोर्चाका सबै सांसद बैठकबाट बाहिरिएका थिए ।

बैठकमा बोल्दै तमलोपाका नेता कबल अहमद शाहले सीमांकनको एजेन्डा छाडेर ल्याइएको संशोधन प्रस्ताव सर्वस्वीकार्य नहुने बताए ।

मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले आयोगमार्फत सीमांकन विवाद समाधान गर्ने गरी नयाँ संविधान संशोधन विधेयक संसदमा पेस गरेको हो ।

नयाँ प्रस्तावमा सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ । त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने प्रस्ताव गरेको छ । भाषा र नागरिकतामा भने पुरानै व्यवस्था कायम गरिएको छ ।