कञ्चनपुरमा विद्यालयका प्रधानाध्यापक पनि भोट माग्न बेस्तः राजीनामा दिने क्रम जारी

पार्टीसँग टिकट माग्नेको लाईन

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएकी छन ।

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएकी उनी महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन ।

नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिएकी बोहराले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताइन ।

टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ ।

पहिलो पटक चुनावमा भाग लिन लागेकी बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताइन ।

विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गरेकी बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गरेकी हुन ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न लागेका छन । रासस