सरकारले सार्वजनिक गर्दै, खटाएका ठाउँमा नजाने चिकित्सकको नाम

काठमाडौँ । सरकारले खटाएका ठाउँमा नजाने चिकित्सकहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा सरुवा गरेका चिकित्सकहरू लामो समयसम्म कार्यक्षेत्रमा नगएपछि उनीहरूको नाम सार्वजनिक गरेर कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

गत १७ फागुनमा मन्त्रालयस्तरीय निर्णय गरी विभिन्न जिल्लामा विशेषज्ञ चिकित्सक पठाए पनि कार्यक्षेत्रमा नगएपछि मन्त्रालयले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

उनले भने–‘मन्त्रालयले देशका विभिन्न अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाएको छ, तर एक महिना बितिसक्दासमेत उनीहरू कार्यालयमा गएका छैनन् ।’

पौडेलले कार्यालय जाने तर कामै नगरी हिँड्ने चिकित्सकहरूमाथि मन्त्रालयले निगरानी थालेको जानकारी दिए । जिल्ला–जिल्लामा विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा अप्रेसनसहितका सेवा दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो ।

के भन्छन् विशेषज्ञ चिकित्सक

डा. विजय पौड्याल हाल भरतपुर अस्पताल चितवनमा कार्यरत छन् । स्वास्थ्य मन्त्रालयले नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा सरुवा गरेपछि उनले सर्वोच्चमा रिट हालेका थिए ।

‘मैले सरुवा रोकी पाऊँ भनेर सर्वोच्च अदालतमा रिट हालेको थिएँ । ११ चैतमा सर्वोच्च अदालतबाट तत्काल सरुवा कार्यान्वयन नगर्नू भनेर स्टे अर्डर आएको छ । म यस विषयमा धेरै बोल्न चाहन्न’–उनले भने ।

डा. सुनिलमणि पोखरेलले निरन्तर भरतपुरमा रहेर सेवा गरिरहेका वेला एकाएक स्वास्थ्य मन्त्रालयबाट सरुवा गरेकोमा आफू दुःखी भएको बताए ।

डा.कालिदास अधिकारीले भने सरुवाबारे अझैसम्म चिठी नआएको बताए । ‘स्वास्थ्य मन्त्रालयले सरुवा गर्दैमा तत्काल जानुपर्छ भन्ने छैन । यो विनायोजनाको सरुवा हो ।

आफ्नो योग्यताअनुसारको ठाउँमा सरकारले पठाएको खण्डमा जाने हो । जिल्लामा हुने सेवा भनेको पिएसीस्तरको हुन्छ, तर, विशेषज्ञ गएर के गरेर बस्ने ’–उनले प्रतिप्रश्न गर्दै भने ।

राजनीतिक दबाब दिँदै चिकित्सक:   स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानमा पठाएका विशेषज्ञ चिकित्सकहरू सेवामा नगएर पुरानै ठाउँमा काम गरिरहेका छन् ।

दुर्गममा नजाने भन्दै मन्त्रालयमा विभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

स्वास्थ्यमन्त्री थापाका सल्लाहकार पौडेलले राजनीतिक आडमा चिकित्सकहरूले मन्त्रीलाई समेत दबाब दिने गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले आफूले खटाएको ठाउँमा नगएका पाँचजना विशेषज्ञ चिकित्सकहरूलाई पुनः ताकेता गरेको छ ।

आग्रह गर्दा पनि नगई पुरानै ठाउँमा बसे प्रशासनिक कारबाही गर्ने मन्त्रालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।