सिरहामा भीषण आगलागी दलितका ५० घर जलेर नष्ट

आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति

सिराहा । सिरहाको सखुवानन्कारकट्टीस्थित दलित बस्तीमा सोमबार साँझ भीषण आगलागी भएको छ । करिब ६ बजे स्थानीय हरिखंग मण्डलको घरमा रहेको परालको कुन्युबाट आगो सल्किएको थियो ।

खरानी आँगनमा राखी मण्डल परिवार खेत गएको वेला कुन्युमा सल्किएको आगोले ५० भन्दा बढी घर नष्ट भएका छन् भने एक दर्जन चौपाया मरेका छन् ।

आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हीराबहादुर पाण्डेले बताए ।

सुकेको फुसले छाएको घरमा लागेको आगो एकैछिनमा गाउँभरि सल्किएको स्थानीयले बताएका छन् । आगलागीबाट हरि मण्डल, सन्तोष मण्डल, देवकिसुन मण्डल, भोगेन्द्र मण्डल, रामभगत मण्डल, राजदेव मण्डल, देवनारायण मण्डललगायतका ३० परिवारका ५० भन्दा बढी घर पूर्ण रूपमा नष्ट भएको डिएसपी पाण्डेले बताए ।

डिएसपी पाण्डेले भने–‘घटनास्थलमा भएको क्षतिको बिस्तृत विवरण मंगलबार मात्र आउने डिएसपी पाण्डेले बताए । ‘डेढ करोडभन्दा बढीको क्षति भएको अनुमान छ, राति १० बजेसम्म प्रहरी टोली घटनास्थलमै काममा व्यस्त छ । टोली फर्केपछि मात्र पूर्ण विवरण आउने छ ।’

अग्निपीडितहरुलाई सखुवानन्कारकट्टी गाउपालिका, काग्रेस, एमाले, संघीय समाजवादी फोरमले प्रतिघर ४ केजी च्युरा, १ केजी चिनी, १ केजी नुनलगायतका खाद्यान्न वितरण गरेको छ । पीडित परिवारलाई प्रहरीले रात बिताउन छिमेकी गाउका प्रत्येक घरमा बास बसाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने समयमा सुरक्षाकर्मीको जनशक्ति अभावले समेत समस्या भयो । सइ चौधरीका अनुसार दिउँसो २ बजे लहान नगरपालिका–१६ स्थित सामुदायिक वनमा लागेको आगो निभाउन सबै सुरक्षा निकाय र लहान नगरपालिकाको बारुणयन्त्र गएको वेला सखुवानन्कारकट्टीमा आगो लागेको थियो ।