आज सरकारले अर्याललाई आइजीपीमा नियुक्त गर्ने

अहिले मन्त्रिपरिषदको बैठकमा छलफल जारी

काठमाडौं । लामो समयदेखि विवाद रहेको नेपाल प्रहरीको आइजीपीमा आज नियुक्ति गर्ने तयारीमा रहेको छ । । सरकारले डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजीपीमा नियुक्त गर्ने भएको हो ।

अदालतले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारी निर्णय बदर गरेपछि वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

अर्याललाई आइजीपीमा नियुक्त गर्न र दोस्रो वरियता तोक्न अहिले मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसेको छ।
देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेको नेपाल प्रहरी फागुन २ गतेदेखि निमित्तको भरमा चलिरहेको छ ।

तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले गत फागुन २ गते अवकाश पाएका थिए । योसँगै प्रहरी निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

आइजीपी नियुक्तका लागि सरकारले ४ जना डिआइजीहरुको ४ वर्षको मुल्यांकन फाइल गृह मन्त्रालयले मन्त्रिपरिषद बैंठकमा पठाएको र फाइलका आधारमा सरकारले नियुक्त गर्न लागेको हो ।

अहिले आइजीपी नियुक्त नहुने बेलासम्म डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त दिइएको छ । उनी प्रहरीका डाक्टर हुन् । पोखरेलसँग दैनिक प्रशासन चलाउने मात्र अधिकार छन् । पोखरेलले प्रशासन क्षेत्रको कुनैपनि तालिम लिएका छैनन् ।