६ बुँदे नयाँ संविधान संशोधन विद्येयक तयार

भोलि संसदमा दर्ता हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ संविधान संशोधन प्रस्ताव तयार पारिएको छ ।

सोमबार विहान प्रधानमन्त्री दाहालसहित कानूनमन्त्री अजयशंकर नायक, माओवादी सांसद रामनारण विडारी र काँग्रेसबा उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र मन्त्री रमेश लेखक बसेर करिब ६ घण्टा लगाएर नयाँ संशोधन विद्येयक तयार पारिएको स्रोतले जनाएको छ ।

नयाँ विद्येयक भोलि दर्ता गरिने सांसद विडारीले जनाए । उनका अनुसार आज भने पूरा संशोधन विद्येयक फिर्ता लिने तयारी गरिएको छ। र,

नयाँ प्रस्तावबारे पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सांसद विडारीले भने–‘यो नयाँ प्रस्तावको मस्यौदा तयार भैसकको छ, पहिलको चार वटा विषय छँदै छ, दुई वटा विषय थपियो, संक्रमणकालिन अवस्था भएकोले एउटा प्रदेशको सिमाना हेरफेर गर्दा अर्को प्रदेशको स्विकृति लिनुपर्दैन।’

आज दिउँसो बस्ने मन्त्रिपरिषदको बैठकमा नयाँ संशोधन प्रस्ताव पारित गराउने तयारी सरकारको रहेको छ । तर आजै नयाँ प्रस्ताव दर्ता भने नहुने भएको छ ।

यसअघि सरकारले ल्याएको संशोधन विद्येयक फिर्ता लिएर भोलिमात्रै नयाँ संशोधन विद्येयक दर्ता गराउने सरकारको तयारी रहेको माओवादी नेता एवम् सांसद विडारीले जानकारी दिए ।

नयाँ संशोधन विद्येयकमा पहिलेका चार वटा विषयमा नयाँ दुई वटा विषय थपिएको छ । विडारीका अनुसार नयाँ संशोधन विद्येयकमा सिमांकनको विवाद टुँगो लगाउन उच्चस्तरीय संघीय आयोग गठन गर्ने र संक्रमणकालिन अवस्था रहेकोले एउटा प्रदेशको सिमाना हेरफेर गर्न अर्को प्रदेशको अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ ।