बागलुङमा एक प्रधानाध्यापकले चुनाव लड्नका लागि पदबाट राजीनामा दिए
पार्टीको बफादार सिपाही बन्ने उद्घोष
बागलुङ। स्थानीय निकायको निर्वाचनमा लड्नका लागि बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी छन । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालेको प्रअको जिम्मेवारी त्यागेकी हुन ।
आइतबार बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रसामु राजीनामा बुझाएको शर्माले बताएकी छन । बागलुङ नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकाङ्क्षीको सूचीमा छ । “२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भनिन ।
असल प्रअको राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिइन।
पाँच सय विद्यार्थीले पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ ।
सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गरेकी थिइन । रासस