सिमेन्टको मूल्य नबढाउन व्यवसायी सहमत
काठमाडौं । सिमेन्टको मूल्यमा भएको वृद्धि घटाउन उद्योगी सहमत भएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा आइतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिसँगको छलफलमा उद्योगमन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा न्यूनतम नाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीहरूलाई आग्रह गरेपछि मूल्य घटाउन उद्योगी तयार भएका हुन् ।
छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरूको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरूलाई तत्काल पत्राचार गर्ने बताए ।
नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाई कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपभोक्ताहरूलाई उपलब्ध गराउन के–कस्ता उपायहरू अवलम्बन गर्नुपर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्यसमेत रहेको एक अध्ययन समितिसमेत गठन गरिएको छ ।
सो समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने विषयमा अवलम्बन गर्नुपर्ने नीतिगत सुधारका सम्बन्धमा सुझाब दिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा कोइला र क्लिंकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरूले आफ्नो उत्पादनमा प्रतिबोरा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए ।
नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले पछिल्लो १५ दिनमा सिमेन्टको भाउ प्रतिबोरा १० देखि १५ रुपैयाँ बढेको बताए ।
उद्योगीहरूले मोबाइलमा म्यासेज पठाएर सिमेन्टको भाउ बढेको जानकारी दिएको उनले बताए । ‘किन बढ्यो, जानकारी पाइएको छैन, तर भाउचाहिँ बढेको छ,’–उनले भने–‘पुनर्निर्माण चलिरहेको यस्तो वेलामा सिमेन्टको भाउ नबढाएको भए हुन्थ्यो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।