सवारी दुर्घटना गराए चालकलाई १० वर्ष कैद

काठमाडौंँलापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ ।

संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा खारेज विधेयकको प्रतिवेदन पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

मूल विधेयकले कम्तीमा दुई वर्षको प्रस्ताव गरेको थियो । प्रचलनमा रहेको मुलुकी ऐन अदालती बन्दोबस्त ११८ नम्बरबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद दाबी गरिएको मुद्दा धरौटीमा राखेर पुर्पक्ष अघि बढाउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था र संसद्मा विचाराधीन फौजदारी संहिताअनुसार मिलाई उपसमितिले कम्तीमा तीन वर्षको कैदको व्यवस्था गरेको हो । सवारीचालकलाई ३० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव पनि उपसमितिले गरेको छ ।

उपसमिति प्रतिवेदनले राहदानी ऐन २०२४ को दफा ५ संशोधन गर्ने प्रस्ताव गरेको छ । आफ्नो राहदानी अरूलाई प्रयोग गर्न दिएमा कसुरदारलाई पाँच वर्षसम्म कैदको प्रस्ताव गरिएको छ ।

झूठो बयान दिई राहदानी प्राप्त गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना उपसमितिले प्रस्ताव गरेको छ ।

उपसमितिबाट पारित विधेयकले मौजुदा १६ वटा ऐन प्रावधान खारेजी र बचाउ गर्नेछ । यस्तै ३० भन्दा बढी ऐनका विभिन्न प्रावधान संशोधन गर्नेछ ।

संसद्बाट पारित भई प्रमाणीकरणपछि विधेयक २९७५ भदौ १ गतेबाट प्रारम्भ हुने उपसमितिको प्रस्ताव छ । ऐन कार्यान्वयनपछि करार ऐन, कोर्ट फी ऐन, गाली बेइज्जती ऐन, जुवा ऐनलगायतका ऐन खारेज गर्नेछ । गोरखापत्र