सप्तरी घटनामा गोली प्रहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न संसदीय समिति माग

काठमाडौँ । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ मा सप्तरीमा ५जनाको ज्यान जानेगरी भएको घटनामा गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले सुझाव दिएको छ ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ मा सप्तरीको मलेठमा भएको सभामा एमाले र मधेसी मोर्चा कार्यकर्ताको झडपमा प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु हुनुका साथै र दर्जनौं नागरिक–सुरक्षाकर्मी घाइते भएका थिए ।

मानवअधिकार समितिले घटनाको चार दिनपछि मोख्तार अहमदको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको थियो ।

उपसमितिले आइतबार सप्तरी घटनाका सम्बन्धमा समितिसमक्ष स्थलगत अध्ययन प्रतिवेदन पेस गर्दै सप्तरी घटनाका मृतकको छाती, टाउको र पेटमा गोली लागेको, अधिकांश घाइतेको पनि घुँडाभन्दा माथि गोली लागेको देखिएको बताएको छ ।

यसरी गोली प्रहार गर्नु स्थानीय प्रशासन ऐन, २०२८ विपरीत भएकाले जथाभाबी गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न उपसमितिले सिफारिस गरेको हो ।

सुरक्षाकर्मीलाई हतियार प्रयोगका सम्बन्धमा चेतनामुलक अभिमुखीकरण निम्ति सरकारको ध्यानाकर्षण गराउनसमेत उपसमितिले समितिलाई सुझाव दिएको छ ।

संयोजक अहमदसहित उपसमितिमा श्यामसुन्दर टिवडेवाल, दुलारी हरिजन र बसुन्धरा रोकाय सदस्य थिए । उपसमितिले पीडितहरू, सरोकारवाला, नेपाल सरकारका सम्बन्धित पदाधिकारी, स्थानीय, प्रत्यक्षदर्शी, मृतकका आफन्त र घाइतेसँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

उपसमितिको प्रतिवेदनबारे गृहमन्त्री र दुवै प्रहरी (नेपाल प्रहरी र शसस्त्र प्रहरी बल) का प्रमुख बोलाएर आवश्यक राय लिइने समितिका सभापति सुशीलकुमार श्रेष्ठले बताए । ‘छलफलपछि समितिले आवश्यक निर्णय गर्ने छ,’–उनले भने ।

उपसमितिले सामाजिक सद्भाव बिग्रन नदिन एवं भिडन्तको अवस्थाबाट सचेत रहन सरकारको पूर्व तयारिका लागि भरपर्दो सुरक्षा व्यवस्था कायम गर्न सरकारलाई उचित निर्देशन दिन सुझाएको छ ।

मृतकका परिवारले अझै राहत रकम नपाएकाले सरकारले घोषणा गरेको रकम तुरुन्त उपलब्ध गराउन निर्देशन दिइनुपर्ने प्रतिवेदनको राय छ ।

तराई मधेश क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न विशेष कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई सुझाव दिनुपर्ने उपसमितिको ठहर छ ।

सप्तरी घटनापछि एमालेका जिल्लास्तरिय नेता आफ्नो गाउँघरबाट समेत विस्थापित भएकाले सप्तरीमा सामाजिक सद्भाव कायम गर्दै निर्वाध रुपमा घर फर्किन र आफ्नो सामाजिक जीवनयापन सञ्चालन गर्न सक्ने वातावरण निर्माणका लागि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव उपसमितिले दिएको छ ।

यस्तै, औद्योगिक क्षेत्र, विद्यालय जस्ता क्षेत्रहरुमा राजनीतिक कार्यक्रम गर्दा त्यसले देशको अर्थतन्त्र र बालमानसपटलमा नकारात्मक असर पर्ने भएकाले यस्ता क्षेत्रमा कार्यक्रम गर्ने अनुमति नदिन पनि सरकारको ध्यानाकर्षण गराउन सुझाइएको छ ।

सप्तरी घटनामा सप्तरीका सञ्जन मेहता, पिताम्बर मण्डल, आनन्द साह, विरेन्द्र कुमार महतो र इनर यादवको मृत्यु भएको थियो ।

घटनामा ३१ प्रहरी र १७ प्रदर्शनकारी घाइते भएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।