नयाँ वर्षसँगै उपत्यकालाई ध्वनी निषेधित क्षेत्रको घोषणा

दुई अवस्थामा मात्र हर्न बजाउन पाइने

काठमाडौं । उपत्यकामा नयाँ वर्षदेखि सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । सामान्य अवस्थामा पनि चालकले हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले उपत्यकालाई ध्वनी निषेधित क्षेत्र बनाउने निर्णय गरिएको हो ।

महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो ।

उच्च सवारी चाप नियन्त्रण भएन भने उपत्यकामा अझै उच्च ध्वनि प्रदूषण हुन्छ । उनले भने–‘ध्वनि प्रदूषण कम गर्न हर्न निषेधको नियम लागू गर्न लागिएको हो ।’ सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै नयाँ नियम लागू गर्न लागिएको उनको भनाइ छ ।

दुई अवस्थामा मात्र हर्न बजाउन पाइने

नियम लागू भएपछि दुई अवस्थामा मात्र हर्न बजाउन पाइनेछ । घुमाउरो बाटो र दुर्घटना हुने जोखिमको अवस्थामा चालकले हर्न बजाउने पाउने व्यवस्था नियममा छ । यसबाहेकको अवस्थामा हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोपटकका लागि पाँच सय, त्यसपछि क्रमशः हजार, १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।