नारायणघाट दुर्घटनामा तीन भारतीयको मृत्यु एक घाइते

घाइतेको चितवनस्थित मेडिकलकलेजमा उपचार हुदैँ

हेटौँडा । चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकलकलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस