कञ्चनपुरमा उम्मेदवार बन्न दर्जनौँ आकांक्षी, दौडधुपमा लागे नेता

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सुदूरपश्चिमको कञ्चनपुर चुनावमय बनेको छ । सात नगरपालिका र दुई गाउँपालिकामा पछिल्ला दिन धमाधम चुनावी कार्यक्रम भइरहेका छन् ।

राजनीतिक दल तीव्र रूपमा चुनावी अभियानमा लागेका छन् । १९ वर्षपछि हुन लागेको निर्वाचनलाई लिएर जनतामा ठूलो उत्साह देखिएको छ ।

आआफ्नो दलको बलियो उपस्थिति देखाउन कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चा जनताका घरघर पुगेका छन् । अहिलेसम्म कुनै पनि दलले नगरपालिका र गाउँपालिकामा उम्मेदवार तय गरेका छैनन् । दलहरूमा दर्जनौँ आकांक्षी देखिएका छन् । तर, आकांक्षीहरू टिकट सुनिश्चित गर्न दौडधुपमा लागेका छन् ।

शुक्लाफाँटा नगरपालिकाः नेपाली कांग्रेसबाट जयबहादुर विष्ट, चिन्तामणि भट्ट, दलबहादुर बोहरा, लालबहादुर सिंह, दुर्गाप्रसाद भट्ट, गणेश विष्टले मेयरमा आकांक्षा देखाएका छन् । उपमेयरमा पनि धेरै आकांक्षी छन् । भूमा चन्द, कल्पना पन्त, लक्ष्मीदेवी भट्ट, पुष्पा केसी र धर्मा ऐर विष्टको नाम चर्चामा छ ।

एमालेबाट मेयरको उम्मेदवार बन्न रणबहादुर महरा, टेकबहादुर हमाल र विष्णुदत्त जोशीले दौडधुप गरिरहेको एमाले नेताहरूको भनाइ छ । उपमेयरमा ईश्वरा कुँवर, भगवती चन्द, सिर्जना भण्डारी र मोनिका भट्टको चर्चा चलिरहेको छ । तर, पार्टीले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

माओवादी केन्द्रबाट लोकेन्द्र ऐरी, नवराज ऐर, लालबहादुर महरा, नरेन्द्र चौधरी मेयरको दौडमा छन् । उपमेयरका लागि चादँनी धामी र कमला ऐरले आकांक्षा गरिरहेका छन् । राप्रपाबाट मेयरको उम्मेदवार बन्न ढक्कनबहादुर ऐर, जितसिंह भण्डारी, जनकबहादुर चन्द आकांक्षी रहेको चर्चा छ । शुक्लाफाँटामा २४ हजार ५ सय ८४ मतदाता छन् ।

कृष्णपुर नगरपालिकाः कांग्रेसबाट दिलबहादुर देउवा, नवराज जोशी, लेखकराज जोशीले मेयरको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । एमालेबाट मोहन रावल, जयराज पाण्डेको नाम चर्चामा छ । माओवादी केन्द्रबाट जोगराम चौधरी, अर्जुन साउद, खेमराज पाण्डे, उमाकान्त जोशी, पोतिलाल चौधरी र राप्रपाबाट सुरेन्द्रबहादुर बम र सञ्जीव शाही आकांक्षी देखिएका छन् । कृष्णपुरमा २७ हजार ९ सय ५७ मतदाता छन् ।

पुनर्वास नगरपालिकाः कांग्रेसबाट तोयप्रसाद शर्मा, भरत विष्ट, एमालेबाट जीवन थापा, रामचन्द्र नेपाल, स्थिर घिमिरे, माओवादी केन्द्रबाट वीरबहादुर थापा, कञ्चन गिरी, रामबहादुर देउकर मेयरको उम्मेदवारका लागि आकांक्षी देखिएका छन् । पुनर्वास नगरपालिकामा १९ हजार ६ सय ३५ मतदाता छन् ।

बेलौरी नगरपालिकाः कांग्रेसबाट हरेन्द्र विष्टसँगै केशवराज जोशीले मेयरको टिकटका लागि दाबी गरिरहेका छन् । एमालेबाट पल्लवराज भट्ट र यज्ञराज कँडेल आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट पोलिलाल चौधरी, अमर चौधरी, धर्मरम चौधरीको चर्चा छ । बेलौरी नगरपालिकामा २९ हजार ४सय १८ मतदाता छन् ।

बेदकोट नरपालिकाः कांग्रेसबाट रामबहादुर भण्डारी, ज्ञानेन्द्र भट्ट, डम्बरराज जोशी, टीका बैज, भरत रोकाया, गणेश नेपाली, तुलाराम साहु, अन्जु मडै मेयरको उम्मेदवार बन्न चाहिरहेका छन् । एमालेबाट अशोक चन्द, लालबहादुर खड्का, चक्रबहादुर पाण्डे, रामदत्त जोशी, हिक्मतबहादुर सिंह, रामचन्द्र रेग्मी, रामसिंह धामी, भीम बोगटी, सुरेन्द्र केसी आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रबाट हेमराज पाण्डे, मिनराज गिरी, चन्द्रकान्त भट्ट, उद्धवसिंह कठायत तथा राप्रपाबाट धीरेन्द्र ढगौँराको चर्चा छ । बेदकोट नगरपालिकाको जनसंख्या २६ हजार १ सय १५ जना रहेका छन् ।

महाकाली नगरपालिकाः महाकालीमा मेयरका लागि कांग्रेसबाट बेलबहादुर राना, गोपाल भट्ट, मदनलाल सुनारको नाम चर्चामा छ । एमालेबाट चिनी गिरी, किशोर लिम्बू, ओम बस्नेत आकांक्षी छन् । माओवादी केन्द्रबाट भरत भट्ट, इन्द्रबहादुर रावत, पशुराम सुनार र राप्रपाबाट चन्दी खत्री आंकाक्षी देखिएका छन् । महाकाली नगरपालिकामा १९ हजार ६ सय ३५ मतदाता छन् ।

बेलडाँडी गाउँपालिकाः बेलडाँडी गाउँपालिको अध्यक्षमा कांग्रेसबाट जनक धामी, गणेशबहादुर सिंह, हर्कदेव जोशी, ईश्वरी भट्ट, चन्द्रबहादुर सिंह, कृष्ण गिरीले आकांक्षा देखाएका छन् । एमालेबाट अक्कल विष्ट, वीरबहादुर विष्ट, धनबहादुर थापा, गणेश उपाध्याय, लालबहादुर रावत र वीरबहादुर बडुवालको नाम चर्चामा छ ।

एमाओवादी केन्द्रबाट मोहन गिरी, भुवन एसके, शेरसिंह पुजार, सुरेन्द्र कोइरालाको चर्चा भइरहेको छ । राप्रपाबाट गोपालसिंह धामीको मात्र चर्चा सुनिन्छ । बेलडाँडीमा ११ हजार ६ सय ६४ मतदाता छन् ।

लालझाडी गाउँपालिकाः लालझाडी गाउँपालिकामा कांग्रेसबाट धर्मसिंह बडायक र श्रीकृष्ण राना, एमालेबाट प्रकाश राना र ठिठ्ठा राना तथा माओवादी केन्द्रबाट भक्ता राना, फूलाराम चौधरी र ओमप्रकाश राना अध्यक्षका दाबेदार देखिएका छन् ।
लालझाडीमा मुख्य तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताको भनाइ छ । लालझाडीको मतदाता संख्या १० हजार ८ सय ३६ छ ।

भीमदत्त नगरपालिकाः कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्तमा मेयरको उम्मेदवार बन्न कांग्रेसबाट शंकरबहादुर चन्द, दिवाकर पाण्डेय, अन्तराम भट्ट, दुर्गा बोहरा, दुर्गादत्त जोशी, ईश्वरी जोशी, माधवप्रसाद भट्ट, मधु भारती, अच्युतराज कलौनीले आकांक्षा देखाएका छन् । उपमेयरमा सुशीला चन्द, निलम जोशी, रमिता देउवा, सरस्वती दाहालको चर्चा भइरहेको छ ।

एमालेबाट ईश्वरीप्रसाद खरेल, सुरेन्द्र विष्ट, शेरबहादुर चन्द, लीलाध्वज बस्नेत, हरिप्रसाद जोशी, हरकसिंह धामी, कर्णबहादुर चन्द, प्रकाश रावल, कृष्णदेव पन्त रवीन्द्र कुँवर, नरबहादुर विक, विष्णुदत्त भट्टको नाम चर्चामा छ । उपमेयरको उम्मेदवारीमा माया पन्त, पुनम चन्द, लक्ष्मी विक, दुर्गा भट्टले दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रबाट कौशिल्या ओझा, लोकराज जोशी, देवेन्द्र ढुंगाना र कृष्णदत्त जोशी मेयरको उम्मेदवार बन्ने दौडमा छन् । माओवादी केन्द्रबाट उपमेयरमा भने कसैले दाबी गरेका छैनन् ।

राप्रपाबाटसमेत मेयरमा चारजनाको चर्चा छ । मेयरमा जगेन्द्रबहादुर चन्द, धर्मराज जोशी, पूर्णबहादुर चन्द र श्याम चन्द तथा उपमेयरको आकांक्षीका रूपमा हेलन श्रेष्ठ देखिएकी छिन् । भीमदत्त नगरपालिकामा ५५ हजार, ८ सय ३१ कुल मतदाता रहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।