नेपाली कांग्रेसले तय गर्यो चुनावी नारा

देउवा पाँच दिन काठमाडौं बाहिर

काठमाडौ । नेपाली कांग्रेसले आउदै गरेको स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम र आमसभामा भाग लिन ५ दिन काठमाडौं बाहिर हुने भएका छन् ।

रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आमसभामा भाग लिन ५ दिन काठमाडौं बाहिर हुने भएका छन् । कांग्रेसले चुनावी प्रचारअन्तर्गत प्रदेश नम्बर ७ मा गर्ने आमसभालाई सम्बोधन गर्न देउवा शनिबार नै धनगढी पुगेका छन् ।

आइतबार धनगढीमा देउवासहित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नम्बर ५ को तुलसीपुर दाङमा २८ चैत र २९ चैतमा रूपन्देही तथा प्रदेश नम्बर ४ का कास्कीको पोखरामा ३० चैतमा आमसभा सकेपछि मात्र देउवा काठमाडौं फर्किने जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिए ।

पोखरापछि प्रदेश नम्बर २ जनकपुरमा ३१ चैतमा र प्रदेश नम्बर १ झापामा २ वैशाखमा आमसभा गर्ने तयारी कांग्रेसको छ ।

प्रदेश नम्बर ३ तथा प्रदेश नम्बर ६ का आमसभाको स्थान र मिति भने कांग्रेसले तय गरिसकेको छैन । आमसभा सकेपछि कांग्रेसले सात सय ४४ वटै स्थानीय तहमा केन्द्रीय नेताकै सहभागितामा चुनावी सभा गर्ने घोषणा गरेको छ ।