कैलालीको टीकापुरमा बढ्यो चुनावी चहलपहल

आफ्नो जित सुनिश्चित रहेको दलहरुको दाबी

कैलाली । कैलालीको दोस्रो ठूलो नगरपालिका टीकापुरमा चुनावी माहोल तातेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएसँगै मुलुककै पर्यटकीय नगरी सात नम्बर प्रदेशको चर्चित नगरपालिका टीकापुरमा चुनावी सरगर्मी बढेको हो ।

टीकापुरमा सक्रिय राजनीतिक दल सङ्गठन विस्तार, वडा भेला लगायतका कार्यमा बढी मिहिनेत गरिरहेका छन् ।  यस्तै, नगर प्रमुखको उम्मेदवारका लागि आकाङ्क्षी देखिएका पनि टिकटका लागि दौडधूप गरिरहेका छन् । प्रायः सबै पार्टीमा एकभन्दा बढी व्यक्तिले नगर प्रमुखका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरिरहेका छन् ।

नेपाली काँग्रेसबाट मात्रै १२÷१५ जना आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी धेरै जनाको नाम आएकाले सो पार्टीले कसैको नाम सार्वजनिक गरेको छैन ।

यस्तै, नेकपा एमालेबाट जिल्ला सचिवालय सदस्य भैरव रावल, पूर्वजिल्ला सदस्य तपेन्द्र रावल, जिल्ला सदस्य कमला केसी, क्षेत्रीय सचिवालय सदस्य भीमराज चपार्इं, टीकापुर नगर इन्चार्ज श्याम खत्री र युवा सङ्घ आबद्ध युवा नेता विजयराज सिंह मायालु गरी छजना आकाङ्क्षी देखिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पाँचजना मेयर पदमा उम्मेदवारका आकाङ्क्षी देखिएका छन् । सो पार्टीका नेताका अनुसार शिव थापा, बालकृष्ण चौधरी, नन्दराम विक, खडक शाह र तारा सञ्ज्याल नगर प्रमुखको उम्मेदवारीका लागि आकाङ्क्षी देखिएका छन् । पाँचैजना केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन ।

यसैगरी, राप्रपा नेपालबाट पाँच जना आकाङ्क्षी छन् । सो पार्टीको केन्द्रीय निर्णय अनुसार टिकट फाइनल नभएसम्म आकाङ्क्षी कसैको नाम सार्वजनिक गरिएको छैन भने उनीहरूलाई प्रचारप्रसार समेत गर्न दिइएको छैन ।

यीसँगै नयाँ शक्ति नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा लगायत सक्रिय सबै दल चुनावी अभियानमा जुटेको जनाइएको छ ।

२०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगर प्रमुखमा काँग्रेसलाई पराजित गर्दै नेकपा एमालेका रत्नप्रसाद सञ्ज्याल विजयी हुनुभएको थियो तर हाल टीकापुरमै गाभिएको साविकको धनसिंहपुर गाविसमा काँग्रेसका जङ्गबहादुर साउँद र नारायणपुरमा फकिरसिंह कडायतले गाविस अध्यक्षमा जितेका थिए।

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने क्षेत्र नम्बर १ बाट तत्कालीन एकीकृत नेकपा माओवादी पार्टीका रुपा चौधरीले सो क्षेत्रमा जित हात पारेकी थिइन ।

यस्तै, २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरीले बाजी मारेका थिए ।

कैलालीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने टीकापुर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । विगतमा प्राप्त जितहारको नतिजाबाट पाठ सिकेका दल स्थानीय तहको निर्वाचनमा आ–आफ्नो जित सुनिश्चित गर्नका लागि जोडतोडका साथ लागेका छन् ।

अघिल्ला चुनावमा आफ्नो पार्टीले पराजय भोगे पनि यसपालि काँग्रेसप्रति जनलहर चलेकाले टीकापुरमा जित सुनिश्चित रहेको नेपाली काँग्रेसका प्रकाश शाहले दाबी गरे ।

नेकपा एमालेका खडक साउँदले स्थानीय निकायको निर्वाचनमा बाजी मारेको आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा पनि टीकापुरमा विगतकै इतिहास दोहोर्याउने दाबी गरे ।

उता नेकपा माओवादी केन्द्रका ईश्वर सोडारीले संविधानसभा, सङ्घीयता, स्थानीय तह यी सबै आफ्नो पार्टीको एजेन्डा रहेकाले जित माओवादी केन्द्रकै हुने दाबी गरेका छन ।

राप्रपा नेपालका मानसिंह साउँदले स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टी झिनो मत अन्तरले हारेको उल्लेख गर्दै यस पालि जितको प्रबल सम्भावना रहेको बताए ।

टीकापुरमा गत वर्ष भदौ ७ र ८ गते घटेको घटना र त्यसपछि उत्पन्न परिस्थितिले स्थानीय तहको निर्वाचनमा धेरै प्रभाव पार्ने नगरवासीको दाबी छ । घटनापछि टीकापुरमा उत्पन्न अहसज परिस्थितिलाई सामान्य बनाउनका लागि खेलेको भूमिकाको मूल्याङ्कन अनुसार पार्टीले भोट पाउने उनको भनाइ छ । गोरखापत्र