देउवा सत्तारोहणका लागि हतारिँदै : दुई चरणमा निर्वाचन गर्न सहमत

चुनावका लागि देउवा लचक बने

काठमाडौं । कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्दा नै चैत मसान्तसम्म पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको नेतृत्व लिने समझदारी गरिएको थियो । समझदारी अनुसार सत्ताआरोहणमा ढिलाई हुन पुगेका कारण देउवाको छटपटाहट सुरु भएको देखिएको छ ।

एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै देउवाले मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिने बताएका हुन ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै देउवाले त्यस्तो कुरा बताए ।

उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव दिएका थिए । तर, देउवाले त्यसलाई वेवास्ता गर्दै दुई चरणमा निर्वाचन गर्ने सन्देश दिए ।

तर, आफ्ना पछिल्ला दुई सरोकारको बिषयलाई सम्वोधन नगरे निर्वाचनमा नआउने अडानमा मधेसी मोर्चा कायमै रहेपछि देउवा लचक बन्न पुगे । त्यसमा प्रधानमन्त्री प्रचण्ड पनि कारक हुन आईपुगे ।

यदि, दुई चरणमा निर्वाचन गर्ने सरकार र मधेसी मोर्चाबीच समझदारी बने जेठसम्म सरकारको नेतृत्व प्रचण्डले गर्नेछन् । एउटा अडानले आउनै लागेको सत्ता फुत्किन नपाओस् भनेर देउवा लचिलो देखिए भने प्रधानमन्त्री प्रचण्ड पनि एमालेसँग मिल्न सकिने भय देखाउदै आफ्नो नेतृत्वको सरकार एक महिनाका लागि लम्बाउन चाहे ।

आफ्नै नेतृत्वको सरकारले बजेट ल्याउन र स्थानीय तहको निर्वाचन गर्न सके त्यसको प्रभाव आउँदो प्रदेश र संघीय संसदको निर्वाचनमा पार्न सकिन्छ भन्ने त छ नै, त्यस अतिरिक्त प्रचण्ड आफ्नै राजनीतिक भविष्य पनि सुरक्षित हुने ठानेका छन् ।