मतदाता परिचयपत्र वैशाखमा २८ देखि ३० गतेसम्म

काठमाडौं । आगामी २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी गरिएको मतदाताको परिचयपत्र वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने भएको छ ।

आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले सो निर्णय गरेको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिए ।

परिचयपत्र प्राप्त गर्नका लागि सम्बन्धित मतदाता आफैँ उपस्थित हुनुपर्नेछ भने त्यहाँ उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका मतदाताको परिचयपत्र उनीहरूको परिवारको सदस्य भएको यकिन गरी भर्पाई गरिदिने व्यवस्था गर्ने निर्णय पनि आयोगले गरेको छ ।

हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढङ्गले मतदाता परिचयपत्र वितरण गर्न वैशाख २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुगिसक्नुपर्ने निर्णय आयोग बैठकले गरेको छ ।

मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिृकतहरूलाई निर्देशित गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।