मानसिक रोग सबैभन्दा बढी युवायुवतीमा देखा पर्याे

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

सुर्खेत ।सुर्खेतमा आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकले बताएका छन् ।

अहिलेसम्मको तथ्याङ्कअनुसार प्रदेश नं ५, ६ र ७ मा मानसिक रोग बढी देखापर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए ।

यो रोग सबैभन्दा बढी युवायुवतीमा देखापरेको भन्दै उनले मानसिक रोग महिलामा बढी देखिए तापनि आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या बढी रहेको बताए।

दैनिकजसो ३० देखि ४० मिनेटसम्ममा योग तथा शारीरिक व्यायाम गरेमा, मन खुसी राखेमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

प्रमुख ज्ञवालीले मानसिक रोग विकराल रुपमा फैलिएको भएपनि मानसिक रोगको क्षेत्रमा राज्यले एक प्रतिशत मात्रै लगानी गरेको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेहेलकुना, पञ्चपुरी नगरपालिकाको सालकोट, लेकबेसी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको छ । रासस