युवती बेच्ने तामाङ १८ वर्षपछि पक्राउ

अदालतले १० वर्ष जेल सजाए सुनायो

काठमाडौं । नुवाकोट समुद्रदेवी–८ घर भएका ४४ वर्षीय विजय लामा भन्ने विजयकुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।

उनी व्यापारको बहानामा युवतीलाई भारतमा पुर्याएर बिक्री गर्ने व्यक्ति हुन । अदालतले समेत दोषी ठहर गरेका उनलाई १८ वर्षपछि पक्राउ परेका हो ।

जिउ मास्ने–बेच्ने मुद्दामा काठमाडौं जिल्ला अदालतले ९ पुस ०५८ मा उनलाई कैदको फैसला गरेको थियो । फरार रहेका तामाङलाई सिआइबीले मंगलबार सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई अदालतले १० वर्ष जेल सजाए सुनाएको छ ।

०५५ को कात्तिकमा तामाङलगायतका व्यक्तिले एक महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौंको बालाजुमा बिक्री गर्ने भन्ने बहाना बनाई मुम्बई पुर्याएका थिए ।

युवतीलाई मुम्बईको वेश्यालयमा पुर्याई २० हजार मूल्यमा बिक्री गरेका थिए । पीडित युवती वेश्यालयबाट भागी नेपाल आएर प्रहरीमा उजुरी दिएकी थिइन् ।