दोस्रो वरीयतामा कमल थापा: पहिले नै सहमति भएको प्रधानमन्त्री भनाई

देउवाको समेत सहमति भएको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछि दोस्रो वरियताको उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई बनाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँगको सहमतिमा नै थापालाई आफनो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने गरी बरियता क्रम मिलिसकेको र उपप्रधानमन्त्री थापालाई नै दोस्रो वरीयतामा राखिएको बताएका हुन्।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग थापालाई सरकारमा सहभागी गराउने वेला नै दोस्रो वरीयता दिने सहमति गरिएको र सोहीअनुसार गठबन्धन विस्तार भएको प्रचण्डले पार्टीमा जानकारी गराएका छन् ।

‘देउवाजीसँगको सहमतिमा कमल थापालाई दोस्रो वरीयता दिने गरी सरकारमा ल्याइएकाले प्रधानमन्त्रीले थापालाई नै दोस्रो वरीयता दिनुभएको भन्ने स्पष्ट भयो,’–बैठकमा सहभागी नेता हरिबोल गजुरेलले भने–।

वरियता विवादका कारण प्रधानमन्त्री प्रचण्डले एकसाता चीन भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तीन जना उपप्रधानमन्त्री मध्ये कसैलाई पनि दिएका थिएनन्।

निधि र थापाबीच कसलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने भन्ने विवाद सुल्झाउन नसक्दा मन्त्रिपरिषदको बैठक नै ठप्प हुँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट चैत १६ गते स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा निधि र थापाबीचको वरियता विवाद छताछुल्ल भएको थियो ।