अस्पतालमा एक वर्षमा तीनजनाद्धारा आत्महत्या

काठमाडौँ । बिरामी तथा अन्य व्यक्तिले अस्पताललाई आत्महत्या गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् । एक वर्षमा काठमाडौंका अस्पतालभित्र तीनजनाले आत्महत्या गरिसकेका छन् ।

चिकित्सकका अनुसार यस्ता घटना काठमाडौंका अस्पतालमा एक वर्षअघिसम्म सुनिँदैन थिए । पारिवारिक झगडा, मानसिक तनाव, आर्थिक अभावजस्ता कारणले अस्पतालमा आत्महत्या गर्ने गरेका छन् ।

बिहीबार बिहान मात्रै राष्ट्रिय ट्रमा सेन्टरमा एक वृद्धाले आत्महत्या गरेकी छिन् । ६५ वर्षकी जयकला घर्तीमगरले सेन्टरको पाँचौँ तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पैसा तिर्न नसकेर बिरामीले आत्महत्या गर्ने घटना हुने गरेका भए पनि पछिल्लो समय आर्थिक अभाव र मानसिक तनावकै कारण बिरामीले आत्महत्याको बाटो रोज्ने गरेको चिकत्सकहरू बताउँछन् ।

आर्थिक अभावले होइनः निर्देशक
बाग्लुङ निसी–१ घर भएकी जयकला मेरुदण्डमा समस्याले हिँड्न नसकेपछि तीन हप्ताअघि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएकी थिइन् ।

उनको मृत्युको कारणबारे अझै यकिन हुन सकेको छैन । घटनाले आफूहरू स्तब्ध भएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले बताए । ‘बाहिर देख्दा आर्थिक अभावजस्तो देखिन्छ, तर उहाँहरूले आफू गरिब भएको अस्पताललाई भन्नुभएन,’ डा. उपाध्यायले भने–‘औषधिहरू किनेर ल्याउँथे, अस्पतालको चार्ज असाध्यै न्यून थियो ।’

उपत्यकाका अस्पतालमा भएका आत्महत्याका घटना

गत ३२ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको चौथो तलाबाट हामफालेर एक पुरुषले आत्महत्या गरे । चाबहिलबाट मर्निङवाकमा निक्लिएका ५२ वर्षीय गोपीकृष्ण बस्ताकोटीले अस्पतालमा गएर आत्महत्या गरेका थिए ।

‘अस्पतालसँग क्षतिपूर्ति नमाग्नू, अस्पताललाई दोष नदिनू, यो दोष मेरो हो,’ उनले आफ्नो सुसाइड नोटमा लेखेका थिए । बिरामी नभए पनि आत्महत्या गर्नकै लागि उनले अस्पताल रोजेका थिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको उपचार गराइरहेका दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले गत २१ भदौमा आत्महत्या गरे । अस्पतालको तीन तलामाथिको झ्यालबाट हामफाल्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्पतालले वास्तै गरेन दिलुजा घर्तीमगर, मृतककी छोरी

पुसदेखि आमाले पछाडिको भाग दुख्यो भन्दै हुनुहन्थ्यो । निको होला भनेर केही दिन वास्ता गरेनौँ । पछि रोग झन् बल्झिँदै गयो । त्यसपछि ५० जहार रुपैयाँ ऋण खोजेर बुर्तिबाङ बजारमा ल्यायौँ । त्यहाँ पनि उपचार नहुने देखियो ।

त्यसपछि पोखराको मनिपालमा ल्यायौँ । त्यहाँबाट फेरि फिस्टेलमा गयौँ । त्यहाँ पनि उपचार हुन सकेन । पोखरामा पाँच दिन राखेर गत ६ चैतमा काठमाडौंमा ल्यायौँ । पोखराको हस्पिटलले स्पाइनलकटमा टिबी भएको हुन सक्ने बताएको थियो ।

५० हजार रुपैयाँ पोखरामा सकिएको थियो । हामीसँग रोजगारीका लागि साउदीमा गएको भाइलाई फोन गर्नुको विकल्प थिएन । घरमा अरू कसैको आम्दानी छैन । भाइ साउदी गएको पनि भर्खर ५–६ महिना भएको छ ।

उसको त्यति धेरै कमाइ पनि छैन । त्यसैले भाइले साउदीमा साथीहरूसँग ऋण गरेर एक लाख रुपैयाँ पठाइदियो । १८ दिनसम्म हस्पिटलमा राख्दा त्यो रकम पनि सकियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।