प्रवुद्ध समूहको बैठक सकियोः चौथो बैठक भारतको देहरादुनमा मे २९ मा हुने

ब्रोड फ्रेमवर्क तयार भएको नेपाली पक्षको दाबी

काठमाडौं । बुधबारदेखि सुरु भएको नेपाल भारत प्रवुद्ध समूहको बैठक बिभिन्न बिषयमा छलफल गर्दै आज सकिएको छ ।

उक्त बैठकले दुई देशबीच देखिएका समस्याहरुबारे गम्भिर छलफल गर्दै त्यसलाई पूर्णता दिनका लागी प्रबुद्ध समूहको चौथो बैठक भारतको देहरादुनमा आगामी मे २९, ३० र ३१ मा बस्ने निर्णय गरेको छ ।

काठमाडौंमा भएको उक्त तेश्रो बैठकमा नेपाल र भारतको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका असमान धारा खारेज गर्नु पर्ने, सीमा समस्याबारे स्थलगत रुपमै गएर छलफल गर्ने, सीमा क्षेत्रमा नै बैठक बस्ने, व्यापार घाटा, सीमा समस्या र जलस्रोतबारे नयाँ नीति बनाउनु पर्ने लगाएका विषयमा नेपाली पक्षले गम्भिरता पूर्वक आफ्नो धारणा राखेका छन ।

बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि प्रबुद्ध समूहका संयोजक भेष बहादुर थापाले उक्त बैठकले नेपालले भोगिरहेको समस्याका विषयमा कुनै ठोस निर्णय हुन नसके पनि एक प्रकारले के के गर्ने भन्ने ब्रोड फ्रेमवर्क बनेको बताए ।

हरपल नेपालसँग कुरा गर्दै उनले भने–‘ धेरै विषयमा कुराहरु भएका छन । उहाँहरुले पनि सकारात्मक रुपमा सुन्नु भएको छ । यो बैठकले काम के के गर्नुपर्नेछ भन्ने विष्यमा फे्रम तयार गरेको छ ,बाँकी कार्यान्वयनको विषयमा भारतमा हुने समूहको चौथो बैठकले पूर्णता दिने छ ।’

बैठकमा नेपाली पक्षले १९५० को सन्धिका असमान चार धारा खारेज गर्न आवश्यक रहेको बताएको र जलस्रोत सम्वन्धी सन्धिको समीक्षासहित नेपाली धारणा र व्यापार तथा पारवहन सम्झौता र व्यापार घाटाबबारे नेपालको चासो समेत प्रस्तुत गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

१९५० को सन्धिबारे पूर्वमन्त्री निलाम्बर आचार्य, जलस्रोतबारे सूर्यनाथ उपाध्याय र व्यापार घाटाबारे राजन भट्टराईले धारणा राखेका थिए ।

नेपाली पक्षले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा भारतिय पक्षका प्रबुद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थिएन ।