केन्द्रमा मिल्न नसकेका वैद्य र विप्लव धनकुटामा यसरी मिले

वामपन्थी शक्तिबीच एकतामा कार्यकर्ताको जोड

एक संयुक्त कार्यक्रममा बैद्य र विप्लवः तस्विर हरपल नेपाल डटकम

धनकुटा । जनयुद्धदेखि शान्ति प्रकृयासम्म पुग्दा क्रान्तिकारी धारको नेतृत्व गर्दै आएका नेता मोहन बैद्य किरण र नेत्रबिक्रम चन्द विप्लवबीच अर्को जनक्रान्तिको तयारी गर्ने लाइन एउटै भएपनि आ आफ्नो ढंगले पार्टीको नेतृत्व गरिराखेको भन्दै कार्यकर्ताहरुले भने एकतामा जोड दिदै आएका छन ।

तत्कालीन पुष्पकमल दहाल प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीले क्रान्तिलाई धोका दिएको निष्कर्ष निकाल्दै नेकपा माओवादीको गठन गर्न पुगेका यि दुबै नेताहरु केही समयसम्म एउटै पार्टीको झण्डामा रहेर काम गरे । संविधान सभाको निर्वाचन वहिस्कार गर्ने देखि निर्माण भएको संविधान पश्चगामी भएको भन्दै जलाउने काम पनि मिलेरै गरे ।

बैद्यले नेतृत्व गरेको पार्टीले पनि क्रान्तिको नेतृत्व गर्न नसक्ने निष्कर्ष सहित पुन विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गर्दै अहिले नेपाल कम्युनिष्ट पार्टीको नाम दिएका छन । उनी एकिकृत जनक्रान्तिको कार्य दिशामा अघिबढेका छन, भने बैद्य अहिले स्थानीयन निकायको निर्वाचनमा भागलिने मुडमा देखिएका छन ।

पार्टीका नाम र नारा जे भएपनि दुबैको निष्कर्ष ‘युद्धकालीन माओवादीले उठान गरेका मद्धाहरु स्थापीत नभएको र श्रमजिवि नेपाली जनताको राज्य सत्ता प्राप्तीको लागि क्रान्ति आवश्यक छ’ भन्ने देखिन्छ । तर पनि आ आफ्नो नीति र नेतृत्वको अहमता नेताहरुमा देखिएकाले एउटै उद्देश्यमा रहेका पार्टीहरुबीच एकता हुन नसकेको कार्यकर्ताहरुले आरोप लगाएका छन ।

यसरी एउटै उद्देश्यमा रहेका फरक पार्टीका शिर्ष नेतृत्वहरुबीच केन्द्रमा मिलन हुन नसकेपनि पछिल्लो समयमा भने स्थानीय तहबाट त्यसको सुरुवात भएको देखिन्छ । त्यसको पछिल्लो उदाहरण हिजो धनकुटामा दुई पार्टीबीचको एकताले प्रष्ट पारेको छ ।

हिजो विप्लव नेतृत्वको नेकपाका धनकुटा इन्चार्ज आकाश शर्मा र बैद्य नेतृत्वको क्रान्तिकारी माअ‍ेवादीका लिम्बुवान राव्य समिति सदस्य राजेन्द्र बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दे त्यस्तो निर्णण गरिएको जानकारी गराएका हुन ।

उक्त विज्ञप्ति अनुसार नेकपा क्रान्तिकारी माओवादी र नेकपाबीच धनकुटा जिल्ला पार्टीमा एकता भएको छ ।विज्ञप्ति अनुसार क्रान्तिकारी माओवादीका राज्य समिति सदस्यहरु राजेन्द्र बस्नेत, आलोक श्रेष्ठ र विशाल मगर तथा जिल्ला सदस्यहरु वविता कुँवर,राधिका लिम्बू, हिक्मत शाक्य, लोकेन गुरुङ, फत्त तामाङ, घनेन्द्र महरा, प्रतिक शेर्पा, मनिष विक, सुमन राई, छज्ञ तामाङ र राजन कार्की लगायत विप्लव नेतृत्वको पार्टीमा आएका छन ।

उक्त विज्ञप्तिमा भनिएको छ–‘संविधान सभाको कथित दोश्रो निर्वाचनलाई पनि हामीले बहिष्कार गर्याै, त्यहि संविधानसभाबाट निर्मित संंविधानको कार्यान्वयनको सवालमा हुन गैरहेको स्थानीय निकायको विपरित उभिन जरुरी छ । स्थानीय निकायको निर्वाचन दलाल संसदिय व्यवस्थाको संस्थागत गर्ने आधार हो ।’

नेपाली कम्युनिष्ट आन्दोलन श्रमजिवि जनताको उन्मुक्तिका खातिर अगाडि बढिरहेको जनाउँदै उक्त विज्ञप्तिमा भनिएको छ–‘राजनीतिक दहरुबीचको वैचारिक विमतिका कारण क्रान्तिकारी शक्तिहरुबीच विघटन र विभाजन हुदा नेपाली जनता निराशामा छन । नेपालमा देशभक्त, प्रगतिशिल, जनतान्त्रीक, बामपन्थी, उत्पिडितहरुकोबीचमा एकता,सहकार्य र ध्रुविकरण हुन आवश्यक छ । हामी एकतामा विश्वास गर्दछौ ।’

अहिले फरक फरक पार्टीमा रहेका बैद्य र विप्लवमा नेता कार्यकर्ताहरुले दुई पार्टी बीचको एकता हुनुपर्नेमा जोड दिदै आफ्नो असन्तुष्टि पार्टी नेतृत्वमा जनाएको श्रोतबाट खुल्न आएको छ । पछिल्लो चरणमा बैद्यका धेरै नेताहरुले पार्टी समेत छाडेका छन भने केही जिम्मेवारी नलिएर बसेका छन ।

पहिले स्थानीय निकायको निर्वाचनमा भाग नलिने बताएको क्रान्तिकारी माओवादीले हाले सम्पन्न केन्द्रीय समिति बैठकबाट मोर्चाको नाममा निर्वाचनमा भागलिने निर्णय गरेपछि बैद्य माओवादी भित्र केन्द्रदेखि जिल्ला स्तरका नेताहरु पार्टीबाट बाहिरिने क्रम चलेको देखिन्छ ।

पार्टी छाडेका अधिकाशं नेताहरुको भनाई पार्टीको स्पष्ट लाईन नभएको र वैचारिक रुपमा स्खलन हुन पुगेको आरोप लाग्ने गरेको छ । यस विषयमा हरपल नेपालले क्रान्तिकारी माओवादीका प्रवकता हरिभक्त कडेंल प्रतिकसँग जानकारी माग्दा उनले पश्चिमका केही जिल्लामा आफ्ना नेताहरुले पार्टि छाडेको कुरा स्विकारे ।

प्रवक्ता कडेंलले भने–‘पश्चिमका केही जिल्लाहरुका साथीहरुले पार्टी छाडे भन्ने जानकारी आएको छ । तर बाहिर मिडियामा जसरी बढाएर आएको छ,त्यो भने सत्य होइन । स्थानीय जनताहरु र आम कार्यकर्ताहरु अझैपनि हामीसँगै छन ।’

उनले पार्टीमा विभिन्न पार्टीबीच एकताको कुराहरु चल्नु स्वभाविक भएपनि अहिले विप्लव वा प्रचण्ड कुनै माओवादी पार्टीसँग एकता नहुने स्पष्ट पारे ।

उनले अहिले पार्टीलाई सृढृण बनाउने तिर आफुहरु लागेको बताएका छन । पार्टीले स्थानीय निकायको निर्वाचनमा भाग लिने र त्यसका लागि अहिले संर्घष गरिरहेको उनको भनाई छ ।

उता विप्लवले नेतृत्व गरेको नेकपा भने सरकारले घोषणा गरेको निर्वाचनलाई जसरी पनि रोक्ने बताउदै आएको छ । श्रोतका अनुसार नेकपाले स्थानीय निकायको निर्वाचनको खारेजी अभियान जन स्तरमा ब्यापक रुपमा संचालन गरिरहेको छ ।

उसले स्थानीय निर्वाचनमा भाग नलिन जनतासँग अपिल गर्ने र आवश्यक परे निर्वाचन बिथोल्न कडा कदम समेत उठाउने यस अघिनै सार्वजनीक समेत गरेको छ ।