प्रदेश २ मा अझै तोकिएनन् मतदान केन्द्र,आयोगलाई अप्ठ्यारो

काठमाडौँ । मिति नजिकिँदै गए पनि मधेस केन्द्रित दलको विरोधका कारण निर्वाचन आयोगले २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोक्न नसक्दा तोकिएकै मितिमा निवार्चन सम्पन्न गर्न बाधा उत्पन्न भएको छ ।

२ नम्बर प्रदेशसहित सबै क्षेत्रको मतदाता नामावलीले अन्तिम रूप पाई मतदाता परिचयपत्र छपाइको काम अघि बढिरहे पनि मतदान केन्द्र तोक्न नसक्दा आयोग अप्ठ्यारोमा परेको छ ।

‘२ नम्बर प्रदेशमा मतदान केन्द्र तोकिएका छैनन्, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बुधवार भने–‘२ नम्बर प्रदेशका विषयमा छलफलका क्रममा छौं । अन्य काम भने यथावत् भइरहेका छन् ।’

मधेसी मोर्चाका कार्यकर्ताले २ नम्बर प्रदेशमा निर्वाचनको विरोध गर्दै निर्वाचनका काममा अवरोध गरिरहेकाले मतदान केन्द्र तोक्न गाह्रो भएको आयोगका पदाधिकारी बताउँछन् ।

प्रमुख आयुक्त यादवको नेतृत्वको आयोग टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटकपटक भेट गरी २ नम्बर प्रदेशमा निर्वाचनका लागि राजनीतिक र सुरक्षाको वातावरण बनाउन आग्रह गरिसकेको छ ।

‘सुरक्षा दिने काम सरकारको हो, हामीले प्रधानमन्त्रीसँग २ नम्बर प्रदेशमा निर्वाचन गतिविधि सञ्चालन गर्न भइरहेको अप्ठ्यारोबारे जानकारी गराएका छौं’– आयोगका अर्का एक आयुक्तले भने ।

आयोगले देशैभर ७५ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ जना मतदान अधिकृत तोकिसकेको छ । उनीहरूका लागि चैत २८ र २९ गते तालिम दिएर गाउँपालिका र नगरपालिकामा पठाउने तयारी गरे पनि २ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा मतदान अधिकृतलाई कहाँ गएर काम गर्ने भन्ने अप्ठ्यारो आउने आयोगका अधिकारी बताउँछन् ।

संविधान संशोधनको माग गर्दै मधेस केन्द्रित दलहरूले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताइरहेका छन् । मधेस केन्द्रित दललाई मनाउन मधेसमा स्थानीय तहको संख्या थप्ने र त्यहाँ दोस्रो चरणको चुनाव गर्ने कुरा सरकारले गरिरहेको छ ।

‘मधेसमा स्थानीय तह थप्नुपर्छ भन्ने हाम्रो माग हो’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने–‘चुनाव जति चरणमा गरोस् त्यो सरकारको विषय हो ।’

मधेस केन्द्रित दलका माग सम्बोधन नभई मधेसमा चुनावको विरोध जारी रहने कर्णले बताए । मधेसमा संख्या थपेर दोस्रो चरणमा चुनाव गर्ने सरकारको प्रस्ताव चुनाव नगराउने षड्यन्त्र भएको प्रमुख विपक्षी एमालेको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।