काठमाडौँमा आज नेपाल र भारतबी प्रबुद्ध व्यक्ति समूह बैठक बस्दै

बैठक १९५० को सन्धिका साथै व्यापार सम्बन्ध

काठमाडौं । नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह को तेस्रो बैठक आज राजधानीमा सुरु हुँदैछ ।

बैठकमा १९५० को सन्धिका साथै नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य विषयमा दुवै पक्षले आ–आफ्ना कुरा राख्नेछन् ।

दुई दिन चल्ने बैठकमा मुख्य गरी सन् १९५० को सन्धि पुनरावलोकनको आवश्यकतामाथि छलफल गरिँदै छ । बैठकमा सहभागी हुन ईपीजीअन्तर्गत भारतीय पक्षका सदस्य नेपाल आइसकेका छन् ।

ईपीजीका भारतीय संयोजक तथा बीजेपी नेता भगतसिंह कोसियारी, बीसी उप्रेती, पूर्वराजदूत जयन्तप्रसाद दिल्लीबाट र महेन्द्र पी लामा सिलगुढीबाट काँकडभित्ता हुँदै काठमाडौं आएका छन् ।

ईपीजीका नेपालतर्फका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत उपयोग र सहकार्य तथा सांसद राजन भट्टराईले नेपाल–भारत व्यापार सम्बन्धबारे बैठकमा प्रस्तुति राख्दै छन् ।

भारतीय पक्षले पनि यिनै विषयमा प्रस्तुति दिने र सहमतिको विन्दु खोजिने ईपीजी सदस्यले बताएका छन् । समितिमा नेपाल पक्षका संयोजक डा. भेषबहादुर थापा छन् । बैठक यसअघि दुईपटक सरिसकेको छ ।

पुसमा पर्यटकीय सहर पोखरामा गर्ने तय भएको बैठक भारतीय निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको थियो । उक्त बैठक तीन साताअघि काठमाडौंमै गर्ने तयारी थियो ।