फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टीबीच एकीकरण हुँदै

नयाँ पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’

काठमाडौँ । विजयकुमार गच्छेदार नेतृत्वको संघिय समाजवादी फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) बीच पार्टी एकीकरण हुने भएको छ ।

एकतापछि नयाँ पार्टीको नाम नेपाल लोकतान्तिक फोरम पार्टी राखिनेबारे दुबै पक्षबीच सहमति भएको बताएका हुन।

फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले अनुसार आज (बुधबार) काठमाडौँमा दुई पार्टीबीच एकता घोषणा हुने जानकारी दिए ।

महासचिव चौधरीले भने–‘दुई पार्टीबीच बुधबार दिउँसो १ बजे मण्डला ब्यांकेटमा एकता घोषणासभा गर्ने तय भएको छ, एकीकृत पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने सहमति भएको छ ।’ जनमुक्ति पार्टीका अध्यक्ष थापाले पनि बुधबार पार्टी एकीकरण गर्ने टुंगो लागिसकेको बताए ।

उक्त नयाँ पार्टीको केन्द्रीय कार्यसमिति १७० सदस्यीय रहनेछ । फोरम लोकतान्त्रिकका केन्द्रीय समितिमा रहेका १ सय ३५ र जनमुक्ति पार्टीको केन्द्रीय समितिमा रहेका ३५ जना सबैलाई कार्यसमितिमा राखेर १ सय ७० सदस्यीय नयाँ केन्द्रीय समिति बनाउने सहमति दुई दलका नेताबीच सहमति भएको महासचिव चौधरीले बताए ।

उनले भने–‘अध्यक्षबाहेक दुवै पार्टीमा केन्द्रीय समितिमा रहेका नेताहरूको जसको जे पद छ, त्यही पदमा राखेर एकीकृत केन्द्रीय कार्यसमिति बनाउने सहमति बनेको छ, जनमुक्ति पार्टीका अध्यक्ष थापा भने एकीकृत पार्टीको उपाध्यक्ष बन्नुहुनेछ ।’

संघीय संसद्को निर्वाचनसम्म त्यही एकीकृत समिति राख्ने र त्यसपछि एकता महाधिवेशन गर्ने सहमतिसमेत नेताहरूबीच भएको छ । नयाँ बन्ने पार्टीको चुनाव चिह्न फोरम लोकतान्त्रिकको ‘नमस्ते’ नै रहने उनले बताए ।

लोकतान्त्रिकको १४ मा जनमुक्ति पार्टीको दुई सिट थपिएपछि १६ सांसद हुने र अब नयाँ पार्टी संसद्को पाँचौँ ठूलो दल बन्ने बताए ।