पशुले जस्तै घोप्टो परेर पानी खान बाध्य मुसहर

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका हो, तर वडा नं. ७ मुराबारीका मुसहर पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउँछन् । बतहा खोला किनारको खाल्डोमा जमेको पानी २७ परिवार मुसहरको जीवनको स्रोत हो ।

जहाँ गाउँका धनीमानीले दिसा गर्छन्, भैंसीलाई नुहाइदिन्छन्, तर गरिब मुसहर त्यही पानी पिउँछन् । खाल्डोमा जमेको पानी भाँडोमा भरेर घर ल्याउँदा पनि लेदो उस्तै हुन्छ ।

पानी पिउनेजस्तो बनाउन उनीहरूले थिग्र्याउँछन् । तर, गिलास अथवा कचौरा हल्लियो भने लेदो जस्ताको तस्तै हुन्छ । त्यसैले कचौरा भुइँमै राखेर घोप्टिएर पानी पिउन बाध्य छन् उनीहरू ।

पानीको स्रोतमा भैंसी आहाल बस्न नदिन र दिसा(पिसाब नगर्न आग्रह गर्दा गाउँका धनीमानीले उल्टै गाली गर्ने गरेको मुसहरहरू बताउँछन् । सरकारले जसलाई उपेक्षा गर्छ, गाउँका ठालुले अवहेलना गर्छन्, अशिक्षित उत्पीडित उनीहरूको विषयमा अब बोलिदिने कसले बोलिदिने हो भन्छन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।