हात्तीको आक्रमणबाट एकको मृत्यु

स्थानीयवासी त्रासमा

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अनुराग दिवेदीका अनुसार पुरानो सदरमुकाम हनुमाननगर बजारमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट हनुमाननगरका २२ वर्षीय रोशन झा घाइते भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज कोसी टप्पु वन्यजन्तु आरक्षबाट बजारमा आएको जंगली हात्तीको आक्रमणबाट झासहित हनुमाननगर बजारका ७ जना घाइते भएका छन् । धरानको बीपी प्रतिष्ठान र राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

बिहानैदेखि हात्ती बजार मा आउँदा स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीले बताए ।