प्रधानमन्त्रीले निधिलाई दोस्रो वरीयता दिने

कार्यालयको साइटमा निधि नै सिनियर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य प्रधानमन्त्रीले वरीयता विवाद (मंगलबार) आज टुंग्याउन लागेका बताए ।
गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ ।

उनका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो ।

थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए ।