हेटौँडा उपमहानगरमा चुनावी माहोल, राजनीतिक दलहरु आ–आफ्नो झण्डा गाड्दै

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै हेटौँडा उपमहानगरपालिकामा चुनावी माहोल तातेको छ । ०४६ सालमा नगरपालिका स्थापना भएको हेटौँडा संघीय संविधान जारी भएपछि स्थानीय तह पुनर्संरचनाको क्रममा उपमहानगरपालिका बनेको हो ।

त्यसैले हेटौँडा नगरमा प्रभावशाली राजनीतिक झन्डा गाड्न एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा कम्मर कसेर लागेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला भएका कारण पनि हेटौँडाको निर्वाचनले विशेष रौनक थपेको छ । ठूला दल मात्र होइनन्, पहिलोपटक निर्वाचनमा होमिन लागेको नयाँ शक्तिदेखि अन्य साना दलका तर्फबाट पनि सम्भावित उम्मेदवारीको चर्चा सुनिएको छ ।

दलहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा व्यस्त भएका छन् । उम्मेदवारका आकांक्षीहरू पनि आफूलाई बलियो दाबेदारका रूपमा देखाउँदै कार्यकर्तासँग छलफल र माथिल्ला नेतासँग लबिङमा लागेका छन् ।

पार्टी कार्यालयहरूमा नेता–कार्यकर्ताको जमघट बढेको छ । चिया–चौताराको विषयवस्तु आसन्न निर्वाचन नै भएको छ ।

मकवानपुरः मतदान स्थल १६४, मतदान केन्द ३०७, जम्मा मतदाता २,२८,९२७

हेटौंडा उपमहानगरपालिकाः मतदान केन्द्र ९७ , मतदाता ८३,९५१

कांग्रेसबाट पराजुली, अर्याल र शाक्यको चर्चाः मेयरका लागि कांग्रेसबाट तीनजना आकांक्षी देखिएका छन् । नगर सभापति आनन्दराम पराजुली, पार्टीका पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र पूर्वनगर अध्यक्ष अशोक शाक्यले मेयरका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

यी तीनमध्ये पराजुलीको सम्भावना बढी रहेको कांग्रेस वृत्तमा चर्चा छ । जिल्ला अधिवेशनबाट नगर सभापति भएका पराजुलीले त्यही वेला नै मेयरमा उठ्ने बताएका थिए ।

मेयरका अर्का बलिया दाबेदार रामचन्द्र अर्याल माइकल हुन् । लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय अर्याल संस्थापन पक्षधरकै नेता हुन् । कांग्रेसमा उपमेयरका आकांक्षी भने अहिलेसम्म देखिएका छैनन् । पार्टी सभापति तथा सांसद् इन्द्रबहादुर बाँनिया गृहराज्यमन्त्री भएसँगै नगर क्षेत्रमा कांग्रेस प्रभाव बढेको अनुमान गरिएको छ ।

बलराम बल माओवादी केन्द्रका उम्मेदवारः माओवादी केन्द्रले भने हेटौँडा उपमहानगरको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । पार्टी जिल्ला सचिवालय बैठकले मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेलको नाम प्रदेशसमक्ष सिफारिस गरेको छ ।

सिफारिस गरिएका उम्मेदवारबारे प्रदेश कमिटीले टुंगो लगाउने जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । मेयरमा सिफारिस हेटौँडा–१ निवासी बल पार्टीका केन्द्रीय सदस्य हुन् भने नगर इन्चार्ज हुन् । उपमेयरमा सिफारिस पौडेल केन्द्रकी केन्द्रीय सल्लाहकार र क्रान्तिकारी महिला संघकी जिल्ला अध्यक्ष हुन् ।

एमालेमा आधा दर्जन आकांक्षी, उपमेयरमा एकजनाः राष्ट्रिय राजनीतिमा दोस्रो ठूलो दल एमाले मकवानपुरको सन्दर्भमा पहिलो बलियो राजनीतिक दल हो । त्यसैले नगर क्षेत्रमा समेत एमालेको बलियो प्रभाव रहेको छ ।

एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव एकालाल श्रेष्ठ, पूर्वमेयर डोरमणि पौडेल, पूर्वउपमेयर हरिबहादुर महत, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, मोर्चा प्रमुख श्रीधर पोखरेल र पूर्वजिल्ला सचिव गोपाल श्रेष्ठ आकांक्षी छन् । पौडेल र महत दुईपटक मेयर÷उपमेयर भइसकेका छन् ।

राप्रपाबाट सिंहसँगै गणेश थापाको चर्चाः राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रूपमा रहे पनि राप्रपा यहाँ बलियो शक्ति मानिन्छ । उसका आकांक्षी उम्मेदवार पनि बलिया छन् ।

दीपकबहादुर सिंह, मधु अधिकारी, गणेश थापा र नवराज विष्टको नाम अहिले चर्चामा छ । सिंह पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन भने थापा अध्यक्ष कमल थापाका कान्छा भाइ हुन् । सांसद रहेका थापा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष पनि हुन् ।

०५४ को स्थानीय निर्वाचन र ०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका सिंहले दोस्रो स्थान हात पारेका थिए । संसदीय निर्वाचनमा पटकपटक पराजित भए पनि उनी राप्रपा मकवानपुरका लोकप्रिय नेता भएकाले उनी नै मेयरका प्रमुख दाबेदार रहेको राप्रपा स्रोतको दाबी छ ।

नेकपा मालेमा महतको एकल चर्चाः मालेको तर्फबाट मेयरका लागि एक मात्र दाबेदार देखिएका छन् । युवा पुस्तामाझ लोकप्रिय पार्टी सचिव भीमसेन महतलाई उम्मेदवार बनाउन मालेको केन्द्रीय नेताहरूले नै जोड गरेको बताइन्छ ।

नयाँ शक्तिमा मैनाली आकांक्षीः पहिलोपटक निर्वाचनमा भाग लिन लागेको नयाँ शक्तिका तर्फबाट मेयरमा राजन मैनालीले आकांक्षा राखेका छन् । उनी हालसम्मका एकल दाबेदार देखिएका छन् । माओवादी सशस्त्र द्वन्द्वको समयमा मानवअधिकारवादी संस्थामा समेत क्रियाशील रहेका मैनाली स्थानीय उद्योगी पनि हुन् ।

यस्तो छ हेटौँडाको चुनावी इतिहास

०४९ मा भएको स्थानीय निर्वाचनमा तत्कालीन हेटौँडा नगरपालिकाको मयेरका लागि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेस उम्मेदवार इन्द्रबहादुर श्रेष्ठलाई पराजित गर्दै एमालेका डोरमणि पौडेल विजयी भएका थिए ।

कांग्रेसकै किशोर अधिकारीलाई हराउँदै उपमेयरमा एमालेकै हरिबहादुर महत विजयी भएका थिए । ०५४ मा भएको निर्वाचनबाट पनि पौडेल र महत नै मेयर–उपमेयर बने ।

एमालेविरुद्ध कांग्रेस र राप्रपाले गठबन्धन गर्दै निर्वाचनमा होमिए पनि एमालेकै उम्मेदवार विजयी भएका थिए । राप्रपाका दीपकबहादुर सिंह मेयर र कांग्रेसका शम्भुप्रसाद भट्टराई उपमेयरका उम्मेदवार थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए भने ०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा चारमध्ये एमालेले तीन तथा कांग्रेसले एक निर्वाचन क्षेत्रमा जितेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।