उपप्रधानमन्त्री वरियताक्रमको विवादले क्याबिनेट रोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।

प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलको चाङ लागेकको छ।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार तीन सातादेखि बैठक बस्न नसक्दा सरकारले नियमित रूपमा गर्नुपर्ने निर्णयको फाइलसमेत थन्किएका छन् ।

‘सरकारले नियमित रूपमा निर्णय गर्नुपर्ने विषय सातामा १५÷२० वटा हुन्छन्’– ती सचिवले भने–‘तीन सातादेखि बैठक बस्न नसक्दा फाइल थपिँदै गएका छन् भने कतिपय निर्णय गर्नैपर्ने विषयमा समेत सरकार मूकदर्शक बनेको छ ।’

स्रोतका अनुसार प्रधानमन्त्रीले दोस्रो वरियतामा उपप्रधानमन्त्री कमल थापालाई राख्ने कि उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई राख्ने भन्ने निर्णय गर्न सकेका छैनन् ।

उनले थापालाई दोस्रो वरियतामा राख्न खोजेका छन् तर निधिले आफू दोस्रो वरियताक्रममा रहनुपर्ने अडान राखेकाले प्रधानमन्त्री दाहालले निर्णय गर्न नसकेका हुन् ।

केही दिनअघि प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री मर्यादाक्रमको विवादबारे देउवासँग परामर्श गर्दै आफूले कमल थापालाई दोस्रो वरियतामा राख्न चाहेको बताएका थिए । देउवाले भने उपप्रधानमन्त्री विवाद आफैं सल्टाउन प्रधानमन्त्री दाहाललाई सुझाएका थिए ।

सर्वोच्चले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्तिलाई खारेज गर्दै निर्धारित मापदण्डमा योग्यतम डीआईजीलाई नियुक्त गर्न आदेश दिएपछि सरकारले नयाँ आइजीपीको निर्णय गर्न सकेको छैन । यो समाचार आजको नयाँ अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।