जन चाहना विपरित निर्वाचन गरिए प्रतिक्रान्ति हुनसक्छः नेता प्रकाण्ड

‘स्थानीय निर्वाचन जनताको पक्षमा छैन’

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थाइसमिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जनताहरुको चाहना विपरित ढंगले निर्वाचनको प्रचार गरेर मुलुकलाई पुर्न केहीदलहरुले प्रतिक्रान्तिमा धकेल्न खोजेको आरोप लगाएका छन ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले आज क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो बताएका हुन ।

उनले अहिले कांग्रेस,एमाले र माओवादी केन्द्रले जनताको हितका लागि स्थानीय निर्वाचन गर्न लागेको भन्ने भन्ने गलत प्रचार भएको भन्दै सबै दलहरुलाई पाखा लगाएर,जन चाहनाको बेवास्ता गर्दे गरिन लागेको निर्वाचनले मुलुकलाई क्रान्तिमा जान बाध्य पार्ने बाहेक अरु केही नहुने तर्क गरे ।

प्रकाण्डले मुलुकमा राष्ट्रियताको खडेरी परेको भन्दै सरकारले गर्ने भनेको निर्वाचनमा आफ्ने पार्टीले जनतालाई सहभागिता नहुन सुझाव दिएको समेत बताए ।

उनले भने–‘स्थानीय निकायको नाममा हुने भनिएको निर्वाचनको कुनै अर्थ छैन । त्यसले जनताको जन जीवनमा कुनै फरक पार्दैन, दलाल र पूजिपति वर्गलाई सत्तामा पुर्याउन मात्र त्यसको प्रयोग गरिदैछ । तसर्थ त्यो निर्वाचन जनताको विपक्षमा छ । हामीले रोक्नका लागि जनतासँग सल्लाह गरिरहेका छौ ।’