उपत्यकामा विद्यार्थीको रहस्यमय मृत्यु

हत्या नै भएको आफन्तको दाबी

काठमाडौँ । उपत्यकाको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य पाँच दिनपछि खुलेको छ । गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो ।

रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको सोह्रखुट्टेमा बस्दै आएका थिए । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाएका छन् ।

बानेश्वर प्रहरी वृत्तका डिएसपी चिमोरियाले प्रहरीले घटनाको तथ्य प्रमाण संकलन गरिरहेको बताए । प्रहरीले पीडित पक्षको जाहेरीका आधारमा कानुनी प्रक्रिया र ज्यानसम्बन्धी अनुसन्धान प्रक्रियासमेत अगाडि बढाइसकेको उनको भनाइ छ ।

चौहानका आफन्तले उनको हत्या नै भएको दाबी गरेका छन् । ‘पानीट्यांकीबाट शव फेला पर्दा पनि शरीर फुलेको छैन,’ घटनास्थल पुगेकी चौहानकी फुपू लक्ष्मी थापाले भनिन्–‘‘शव नफुलेकाले भाइको हत्या नै भएको देखिन्छ ।’ अनुहारमा निलडाम देखिएकाले पनि हत्या नै गरिएको उनको भनाइ छ ।

चौहानको मृत्यु भएको पाँच दिनपछि घटना बाहिर आएको हो । उनको १५ चैतमै मृत्यु भएको र शव १७ गते फेला परेको प्रहरीले जनाएको छ हो । उनी साथीको डेरामा गएका र नजिकै रहेको पानीट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् ।

चौहानका साथी अमित तामाङका अनुसार परीक्षा सकिएपछि मंगलबार राति उनी चन्द्रबहादुर थापाको डेरा गएका थिए । परीक्षा सकिएको खुसीयालीमा आयोजित पार्टीमा अन्य ११ जना पनि सहभागी रहेको उनले बताए ।