प्रहरी हवल्दारको कमान्डमा सुन डकैती

काठमाडोँ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत तीन प्रहरी मिलेर प्रहरी जवान (हवल्दार)बलबहादुर मगरको कमान्डमा सुन डकैती भएको जानकारी दिएको छ ।

उक्त डकैतीमा संलग्न प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने दुई प्रहरीसहित चारजना फरार छन् । तथा डकैती गर्न गएका प्रहरी जवान अजय गुरुङ, सुभाष खरेल, राजकुमार तामाङ, सुन्दर तामाङ, क्षितिज तामाङ र लाप्साङ लामालाई पक्राउ गरेको हो ।

मरुहिटीस्थित सुनका गहना बनाउने कारखानामा शुक्रबार बेलुका कालीगढहरू गहना बनाइरहेका थिए । एक्कासि एक समूह कारखानामा छिर्‍यो । आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले हत्कडी र पेस्तोल देखाए ।

‘तिमीहरू सुनको अवैध कारोबार गर्दा रहेछौ, त्यही भएर छापा हान्न आएको,’ भन्दै उनीहरूले पेस्तोल देखाएर सबैलाई नियन्त्रणमा लिए । कारखानामा भएको सुनका सबै गहना झोलामा हालेर हिँडे ।

कारखानाका सञ्चालक भारतीय नागरिक शिवप्रसाद माइटीले प्रहरीको हेडलाइनमा फोन गरे । ६४ तोला सुनका गहना, मोबाइल र १३ हजार रुपैयाँ लुटिएको थियो । प्रहरीमा हंगामा मच्चियो । महानगरीय अपराध महाशाखाले अनुसन्धानको सुरु गर्‍यो । अनुसन्धानका क्रममा आफ्नै कर्मचारी लुटपाटमा संलग्न खुल्यो ।

बर्दीको बदनाम

प्रहरी नै अपराधमा लागेको यो नयाँ घटना होइन । दुई महिनाअघि मात्र गौशाला वृत्तका सइद्वय सम्बत तामाङ र सूर्यबहादुर थापाले मेनपावर व्यवसायी बद्री राईलाई अपहरण गरी फिरौती असुले ।

गत महिना एसएसपी श्याम खत्री नै सुन तस्करीको आरोपमा पक्राउ परे । सामान्य मात्र होइन, गम्भीर किसिमका अपराधमा पटक–पटक प्रहरी नै संलग्न हुँदै आएका छन् । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बमबहादुर भण्डारी गलत गर्नेहरू कारबाहीमा पनि परेकाले प्रहरीमा सुधार पनि हुँदै गएको बताउँछन् ।

यसरी बन्यो योजना

योजना सुरुवात हर्कबहादुर तामाङबाट सुरु हुन्छ, जो हाल फरार छन् । उनको एक बंगाली युवकसँग संगत थियो । ती बंगाली युवकलाई मरुहिटीको गहना कारखानाको जानकारी थियो । केही अवैध काम भए पनि त्यहाँ सजिलै लुट्न सकिने योजनासमेत बन्यो ।

हर्कबहादुरले उक्त योजना आफ्ना साथी राजकुमार तामाङलाई सुनाए । ट्याक्सीचालक रहेका राजकुमारले आफ्ना साथीहरू लाप्साङ र क्षिजित लामालाई उक्त सूचना सेयर गरे । उनीहरू पनि कारखाना लुट्ने योजनामा तयार भए । लोप्साङ र क्षितिज दरबारमार्गको उडल्यान्ड क्लबमा काम गर्थे ।

सोह्रखुट्टे वृत्तका प्रहरीहरू पनि उक्त क्लबमा गइरहने भएकाले उनीहरूको चिनजान भएको थियो । प्रहरीसँगै मिलेर लुटे सुरक्षित हुने भएकाले उनीहरूले त्यहीअनुसार योजना बनाए ।

उक्त कारखानामा सुनको अवैध कारोबार हुने भएकाले लुटे पनि उजुरी नपर्ने उनीहरूको आंकलन थियो । सोहीअुनसार गत शुक्रबार बिहान १० बजे सोह्रखुट्टेको एक चिया पसलमा बसेर योजना बनाए । र, बेलुका गएर कारखाना लुटे ।

लुटेपछि उनीहरूले सबै सोह्रखुट्टेस्थित प्रहरीको निर्माणाधीन भवनमा गई आ–आफ्नो खल्तीमा रहेको सुन निकालेर सुन्दर तामाङलाई राख्न दिएका थिए । शनिबार बाँडफाँट गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

लुटेको सबै सुनसमेत बरामद भएको छ । डकैतीकै क्रममा जवान ढकालले भने २० तोल सुन लुकाएका थिए । पक्राउ परेका सबैलाई डकैती मुद्दामा काठमाडौं परिसरले थुनामा राख्न १० दिनको म्याद लिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।