स्थानीय तहको निर्वाचन नभए देशले हार्छः नेता भण्डारी

भाषा सम्बन्धी संशोधनले देशलाई फाइदा हुदैन

काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्तावमा समावेश भएका विषयमध्ये सिमांकनबाहेकका अन्य विषयहरु पारित भए आफूहरुलाई कुनै आपत्ति नहुने र स्थानीय तहको चुनाव हुन नसके कुनै दलको हार जित नभएर देशको हार हुने बताएका छन ।

त्यस्तै उनले नेपाली भाषा सबैलाई राष्ट्रिय भाषा मानी सकेकाले अहिले आएको भाषा सम्बन्धी संशोधनले देशलाई फाइदा नहुने तर्क गरे। मधेसी मोर्चाको आन्दोलनले मधेसी जनतालाइ नै फाइदा नहुने भण्डारीको तर्क गरेका हुन ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले तराई, मधेशका जनतालाई अधिकार दिने पक्षमा आफूहरु पनि रहेको उल्लेख गर्दै कतिपय संशोधनमा उल्लेख भएका विषयहरुले जनतालाई अधिकार दिनुको सट्टा बञ्चित गर्ने चिन्ता व्यक्त गरे।

उनले सिमांकन हेरफेर गर्ने विषयमा आयोगलाई जिम्मा दिने हो भने संशोधन प्रस्तावमा जान सकिने विश्वास दिलाए । यद्यपी उनले राष्ट्र र जनतालाई हानी हुने काम गर्न नहुने तर्क गरे । भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने बताए ।