सरोकारवालाहरु भन्छन-मोर्चाको अवरोधले तराईमा सचिवहरुले काम गर्न सकेनन्

वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

भक्तपुर । स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिवहरुले मोर्चाको अवरोधका कारण काम गर्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।

रफत सञ्चार क्लबमा आइतवार आयोजित पत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा छ हजार ६८० वडा कायम रहेकोमा तीन हजार वडा सचिव रिक्त रहेको स्थानीय तह निजामती सचिब संंरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताए ।

उनले तराईमा मधेशी मोर्चाको अवरोधका कारण उनीहरुले आफ्नो काम गर्न नसकेको बताए । स्थानीय तहको कार्यान्वयनसँगै करिब तीन हजार गाबिस सचिबले दोहोर जिम्मेवारी निर्वाह गरि स्थानियलाई सेवा प्रवाह गरिरहेको बताए ।

उनले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठेयारो परेको बताए । उनले संघियतामा वडा सचिबहरुलाई एक तह प्रमोशनको माग निरन्तर रहेको भन्दै निर्वाचनमा देश होमिएकाले आफूहरुले कुनै अन्दोलन नगर्ने जानकारी दिए।

केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले मधेसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नरहेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा प्रदान गर्न नसकिरहेको बताए ।

उनले मधेशका बिभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।