राष्ट्रिय सुरक्षा परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले नीतिको कार्यान्वयन गर्नुपर्छः प्रधानमन्त्री

‘सचिवालयको कार्यक्षेत्रलाई शसक्त बनाउन आवश्यक’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षा निकायका आम विषयमा स्वतन्त्र र निष्पक्ष ढंगले नीतिको कार्यान्वयनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सुरक्षा नीति, २०७३ को कार्यान्वयनका लागि अनुगमन र मूल्यांकन गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रिय सुरक्षा परिषद्ले पाएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको सोह्रौ बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा आज त्यस्तो बताएका हुन।

उनले बिगत १६ बर्षदेखि सचिवालयले आफ्नो जिम्मेवारीलाई ईमान्दारीपूर्वक निर्वाह गरेको र राष्ट्रिय सुरक्षामा अहम भूमिका खेल्दै आईरहेको बताए ।

उनले सचिवालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित आन्तरिक तथा बाह्य खतरा र चुनौतीहरु सम्बन्धी भरपर्दो सूचनाहरु संकलन गर्ने¸ विश्लेषण गर्ने, सूचना प्रवाह गर्ने र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार समूहको रुपमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रधानमन्त्रीले भने–‘विश्वको वर्तमान परिवेशमा सुरक्षा भन्नाले विविध क्षेत्रभित्रका बहुआयामिक बिषयबस्तुहरु समेटिएको राष्ट्रिय सुरक्षाको वृहत रणनीति हो । सुरक्षा बृहत र बहुआयामिक विषय भएकोले यसले मुलुकको सार्वभौमिकता¸राष्ट्रिय अखण्डता¸भौतिक सामाजिक¸आर्थिक¸सांस्कृतिक र मानवीय पक्षलाई समेत समेट्दछ । राष्ट्रिय सुरक्षा अन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरु¸ राष्ट्रिय सम्मान र गौरवका विषयवस्तु लगायत आम जनताको जिउधनको सुरक्षा एवं सामाजिक, सांस्कृतिक मूल्य मान्यताको संरक्षण समेत पर्दछन् । यसका अलवा वातावरण¸सुशासन¸विकास र मानव अधिकारको पक्षलाई पनि राष्ट्रिय सुरक्षाले समेट्दछ ।’

विद्यमान अवस्थामा राष्ट्रहरु बिच हुने ठूलाठूला युद्धहरुको तुलनामा राष्ट्रभित्रै हुने आन्तरिक संघर्षहरु सापेक्षिक रुपमा बढिरहेको भन्दै गरिबी, बेरोजगारी, सामाजिक विभेद तथा अतिवादी सोचाईले गर्दा द्धन्दका स्वरुपहरु बदलिएको तर्क गरे ।

उनले भूमण्डलीकरण तथा प्रविधिको द्रुत विस्तारले गर्दा अन्तर्राष्ट्रिय अपराधीहरुले सहज रुपमा सूचना, श्रोत साधन तथा जनशक्ति प्राप्त गर्दै आईरहेकोले कुनै पनि मुलुकलाई अन्तर्राष्ट्रिय सुरक्षा वातावरणबाट समेत अलग रहन मुस्किल भएको बताएका छन ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय र सामाजिक परिवेशमा ज्ञान¸ विज्ञान र प्रविधिको विकाससँगै जटिल बन्दै गईरहेको राष्ट्रिय सुरक्षाको अवधारणामा राष्ट्रले अपनाउने सुरक्षाका विविध विषयहरु राजनैतिक, आर्थिक, सामाजिक, कुटनैतिक, सूचना र पर्यावरण आदि समेत समावेस हुन आउने उनले बताएका छन ।

उनले भने–‘मुलुकलाई जटिल परिस्थितिबाट निकास दिने सन्दर्भमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले विद्यमान परिस्थितिमा यी समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय सुझाव प्रदान गर्न सक्षम हुनु पर्दछ भन्ने मेरो धारणा रहेको छ । विगतमा यस सचिवालयबाट सम्पादित अनुसन्धानमूलक अध्ययन, विश्लेषण तथा कार्यशालाहरुबाट प्राप्त सुझावहरुको महत्वलाई हृदयङ्गम गरी आवश्यकता अनुसार कार्य सम्पादन तथा कार्यान्वयन भएका छन।’

उनले सचिवालयको कार्यक्षेत्र र जिम्मेवारीलाई थप शसक्त,व्यवसायिक एवं गरिमामय बनाउन आवश्यक रहेको समेत बताएका छन ।