निर्वाचन कार्यालय घेराउ गर्दा भट्टराई थुनिएपछि नयाँ शक्तिले बोलायो बैठक

पक्राउ परेकाहरु अहिले पुलिस क्लब भृकुटीमण्डपमा

काठमाडौं । स्थानीय निकायको निर्वाचनमा दलिय चुनाव चिन्हको माग गर्दे आज निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई सहित विभिन्न पार्टीका नेताहरु पक्राउ परेपछि आन्दोलनका थप कार्यक्रमहरुको तयारीका विषयमा छलफल गर्नका लागि नयाँ शक्ति पार्टीले बैठक गर्ने भएको छ ।

नयाँ शक्ति पार्टी,नेपालले आज दिउँसो तीन बजे बोलाएको छलफलमा पार्टीले उठाएको दलिय चुनाव चिन्हको मागका लागि भोलि गर्ने आन्दोलनको र आजको धर्ना कार्यक्रमको समिक्षा हुने बताइएको छ ।

नयाँ शक्तिले जनाए अनुसार उक्त छलफल कार्यक्रम बबरमल स्थित पार्टी कार्यालयमा राखिएको छ । आजको धर्ना कायक्रम ११ बजेसम्मको लागि मात्र भएकोले त्यो सकिएको उसले जनाएको छ ।

नयाँ शक्तिका संयोजक डा भट्टराई सहितका नेताहरुलाई अहिल २ नं गण महाराजगञ्जबाट पुलिस क्लब भृकुटीमण्डपमा सारिएको बताइएको छ।