मतदाता नामावली र परिचयपत्र छपाइ आजदेखिः आयुक्त यादव

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबारबाट मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ सुरु हुने बताउनुभएको छ ।

आयोगले एक करोड ४० लाखभन्दा बढी मतदाता हुने अनुमान गरेको छ भने आइतबार बस्ने बैठकले मतदाताको ठ्याक्कै सङ्ख्या सार्वजनिक गर्ने जनाएको छ ।

प्रमुख आयुक्त यादवले सुरक्षाकर्मीलाई सुरक्षाको बलभन्दा पनि बुद्धि बढी लगाउन निर्देशन दिनुहुँदै आइपरेका समस्याको समाधान वार्ता र संवाद गरेर समाधान गर्नु । निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीलाई केन्द्रीयस्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै यस्तो धारणा राखेका हुन ।

उनले भने–‘नेपालका सुरक्षाकर्मी निर्वाचनमा सुरक्षा दिनका लागि समक्ष छन् भन्दै प्रमुख आयुक्त यादवले सुरक्षाकर्मीको उपस्थितिमै शान्तिपूर्ण रूपमा अरू कसैले मतदान केन्द्र कब्जा गर्न सक्छ, यस्ता घटना भएका पनि छन्, त्यस्तो हुन नदिन र आफ्नो पोशाकको मर्यादा राख्न अनि कठिन समयमा विवेकपूर्ण निर्णय लिनुपर्छ ।’

उनले निर्वाचनमा हत्या, हिंसाको वातावरण कतै नहोस्, उम्मेदवारले सहज रूपमा प्रचार प्रसार गर्न सकून् र मतदाताले मतदान गर्न सकून् हुनुपर्छ ।

यादवले स्थानीय तह निर्वाचनका लागि ७४४ वटा स्थानीय तहमा निर्वाचन प्रयोजनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृत आज नियुक्त गरिने जानकारी दिए । आज बस्ने बैठकले ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना मतदान अधिकृत नियुक्त गर्ने तयारी आयोगले गरेको छ ।

यसैगरी आयोगका सुरक्षा समितिका संयोजक तथा आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा मनोवैज्ञानिक सुरक्षाले पनि धेरै काम गर्ने हुँदा सोही अनुसारको सुरक्षा वातावरण निर्माण गर्न निर्देशन दिँदै स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सुरक्षाको राम्रो व्यवस्था हुनुपर्ने बताए ।

प्रधानमन्त्रीसँगको भेटको सन्दर्भ औँल्याउँदै आयुक्त शाहले राजनीतिक सहमतिका लागि अधिकतम प्रयास गर्ने तर वैशाख ३१ गते हुने निर्वाचन कुनै पनि हालतमा नसर्ने विश्वास प्रधानमन्त्रीले आयोगलाई दिलाएको बताए ।

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने सुरक्षाकर्मीका लागि आवश्यक प्रोत्साहनको विषयमा अर्थ मन्त्रालयलाई लेखी पठाएको जानकारी सुरक्षाकर्मीलाई दिए ।

यस्तै सहसचिव नवराज ढकालले यसपटकको निर्वाचनमा करिब तीन लाख ६६ हजार उम्मेदवार हुने अनुमान छ, त्यसै अनुसारको सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायसँग आग्रह गरे ।

मतदाता नामावली र परिचयपत्र आयोगमै छापिने

आयोगले मतदाता परिचयपत्र छपाइ गर्नका लागि आयोग परिसरमै अत्याधुनिक प्रविधिका मेसिनसहित कटिङ गर्ने र लेमिनेसन गर्ने मेसिन पनि जडान गरिसकेको छ ।

परिचयपत्र छपाइको जिम्मा पाएको ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह)का जेनेरल म्यानेजर पारस केसीले मतदाता परिचयपत्रको छपाइका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

सो समूहले परिचयपत्र छपाइका लागि छाप्ने मेसिन, कटिङ मेसिन र लेमिनेसन गर्नका लागि आवश्यक पर्ने ५० वटा मेसिन तयारी अवस्थामा राखेको छ ।

छपाइका लागि हरेक दिन तीन समूहमा दुई सय जनाका तीन सिफ्टमा गरी जम्मा छ सय कर्मचारी खटिने जानकारी पनि केसीले दिए ।

एउटा परिचयपत्रको छपाइ गर्न नौ रुपियाँ उनान्सय पैसा पर्नेछ । यो परिचयपत्र नयाँ संरचना अनुसार नेपाली नागरिकले प्राप्त गर्ने पहिलो औपचारिक परिचयपत्र हुनेछ । यो परिचयपत्र अत्याधुनिक प्रविधि अनुसारको हुनेछ । छपाइका लागि करिब २० दिन लाग्ने जानकारी जेनेरल म्यानेजर केसीले दिए ।

यसैगरी आयोगले एक करोड ४० लाख मतदाता नामावलीलाई पनि आइतबार बस्ने आयोग बैठकले अन्तिम टुङ्गो लगाएर छपाइ गर्न सुरु गर्ने जनाएको छ । मतदाता नामावलीको छपाइ भने आयोगले आफ्नै छापाखानामा छाप्ने तयारी गरेको छ । गोरखापत्र