अमेरिकी दूतावासको गोप्य सूचना आधारमा विमानस्थलबाट एक इरानी पक्राउ

काठमाडौं । अमेरिकी दूतावासको गोप्य सूचनाका आधारमा अध्यागमन विभागले गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक इरानी नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अमेरिकी राहदानीवाहक इरानी नागरिकलाई बिहीबार पक्राउ गरेको हो । अमेरिकी राहदानीमा ती इरानीको नाम अब्दुल लातिफ तासिन सलमान लेखिएको छ । कागजपत्रमा उनको इरानी नाम हमिद छ ।

नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो । सलमानले हराएको अमेरिकी राहदानी (स्टोलन लस्ट ट्राभल डकुमेन्ट पासपोर्ट) मा किर्ते गरी आफ्नो फोटो टाँसेको आशंकामा दिल्ली विमानस्थल अध्यागमनले इन्ट्री रिफ्युज गरेको स्रोतले बताएको छ ।

सलमानले बिहीबार भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भने सहजै पार गरेका थिए । उनले हराएको अमेरिकी राहदानी प्रयोग गरेका थिए ।

अमेरिकाले सलमानले हराएको अमेरिकी राहदानी ट्र्याकिङ गरिरहेको थियो । त्यही क्रममा उनी नयाँदिल्ली अध्यागमनको नियन्त्रणमा परेका हुन् ।

भारतबाट इन्ट्री रिफ्युज भएर काठमाडौं आएलगत्तै विमानस्थल अध्यागमन कार्यालयले सलमानलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागको हिरासतमा रहेका सलमानलाई शुक्रबार अमेरिकी दूतावासका अधिकारीले बयान लिएका छन् ।

अध्यागमन अधिकारीले बयान लिनुअघि नै अमेरिकी दूतावासका अधिकारीले सलमानको बयान लिएको जानकारी स्रोतले दिएको छ ।

अमेरिकी दूतावासका अधिकारीले सलमानको लगेज र आवश्यक कागजपत्रसमेत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।

अमेरिकी दूतावासले आतंकवादी संगठन आईएसमा आबद्ध भएको आशंकामा सलमानमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको विशेष ब्युरोले समेत ती इरानीको गतिविधिप्रति चासो राखेको छ ।

केही दिनअघि टर्कीको इस्तानबुलबाट नेपाल आएका सलमानले टर्की विमानस्थलमा इरानको राहदानीमा प्रस्थान अनुमति लिएका थिए । काठमाडौं ओर्लिएपछि उनले इरानको राहदानी लुकाएर अमेरिकी राहदानीमा प्रवेशाज्ञा (भिसा) लिएका थिए ।

‘विमानस्थलपिच्छे उनले राहदानी फेरेका छन् । उनको गतिविधि शंकास्पद देखिएको छ’–विमानस्थलका एक अधिकारीले भने–‘उनी कुनै आतंकवादी संगठनमा आबद्ध भएको आशंकामा अमेरिकी दूतावासले गम्भीर अनुसन्धान गरिरहेको छ ।

भारतीय अध्यागमनले इरानी नागरिक सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै फिर्ता गरेको थियो । सलमानले साउदी अरेबियाको जाली राहदानीसमेत लिएका थिए ।

अमेरिकी दूतावासका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई सलमान भारतबाट इन्ट्री रिफ्युज भएको अग्रीम जानकारी दिएका थिए ।

ुप्राविधिक रूपमा हामी कमजोर छौं । उनको राहदानी शंस्कास्पद भएनभएको छुट्ट्याउन सकेनौुं, विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले भने–‘भारतबाट इन्ट्री रिफ्युज भएपछि मात्र सलमानको राहदानी शंकास्पद भएको थाहा भयो ।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।