सोमबारबाट देशैभर युरो–४ को तेल, प्रतिलिटर ४१ पैसा महँगो

काठमाडौँ । नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए ।

उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ । ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ’–उनले भने । हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ ।

युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ । हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ ।

बुधबारदेखि आयात;   आयल निगमका अनुसार आइओसीको डिपोबाट बुधबारदेखि नै युरो–४ मापदण्डको इन्धन आयात सुरु भएको हो । तर, नियमित आएको छैन ।

‘बुधबारदेखि युरो–४ को इन्धन आइओसीको केही डिपोले छिटपुट रूपमा दिएका हुन्,’–प्रवक्ता पोखे्र्रलले भने–‘तर, सम्झौताअनुसार शनिबारदेखि आधिकारिक रूपमा आउन थालेको हो र अब नियमित रूपमा यही गुणस्तरको इन्धन आउँछ ।’

एक साताअघि मुम्बईमा भएको इन्धन खरिद सम्झौता नवीकरणमा १ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन आयात हुने व्यवस्था थियो ।

कहाँबाट आउँछ;   आइओसीको बरौनी रिफाइनरीबाट विराटनगर, अमलेखगन्जसम्म इन्धन आउँछ । सिलगुढीबाट निगमको झापामा रहेको डिपोमा इन्धन आउँछ । त्यस्तै, रक्सोलबाट अमलेखगन्जसम्म र त्यहाँबाट काठमाडौं, जनकपुर र मन्थलीसम्म इन्धन ढुवानी हुन्छ ।

आइओसीको बेतालपुर डिपोबाट भैरहवा र पोखरामा तथा गोन्डा डिपोबाट नेपालगन्ज, सुर्खेत र दाङमा इन्धन पुग्छ । आइओसीको इलाहाबादमा रहेको बन्थारा डिपोबाट धनगढी र दिपायलमा इन्धन ढुवानी हुन्छ । सबै डिपोबाट युरो–४ इन्धन ढुवानी हुने निगमले जनाएको छ ।

युरो–४ को फाइदा;   युरो–४ मापदण्डको इन्धन प्रयोग गरिएको सवारीसाधनबाट निस्कने धुवाँमा विषादीको मात्रा कम हुन्छ । सवारीसाधनको माइलेज क्षमता बढ्छ ।

यो इन्धनले इन्जिनको घर्षणलाई कम गरी इन्जिन बिगार्न दिँदैन र इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ, जसबाट सवारीसाधनको पावर र पफरमेन्स उत्कृष्ट हुन जान्छ । यसले इन्जिनको भित्री भागलाई सधैँ सफा राख्छ ।

प्रतिलिटर ४१ पैसा महँगो;   युरो–४ मापदण्डको पेट्रोल र डिजेलको मूल्य साबिकको भन्दा प्रतिलिटर ४१ पैसा महँगो परेको निगमका निमित्त नायव प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

‘मूल्यमा थोरै मात्रै अन्तर पर्छ,’ उनले भने–‘त्यसको तुलनामा वातावरणमैत्री र माइलेजका हिसाबले धेरै गुणा फाइदाजनक छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।