म्यादी प्रहरीको पोसाक अन्योलमा

काठमाडौँ । स्थानीय तहको चुनावका लागि भर्ना लिइएका म्यादी प्रहरीको पोसाक अन्योलमा परेको छ । गत शनिबारदेखि भर्ना सुरु भएको म्यादी प्रहरीको २२ चैतमा नतिजा प्रकाशन गरी २५ गतेदेखि तालिम सुरु गर्न लागिएको छ ।

कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई पोसाक खरिद गर्न समय पुग्ने अवस्था छैन । जसका कारण म्यादी भर्ना लिइरहेका जिल्ला प्रहरी कार्यालयहरू अन्योलमा छन् ।

‘तालिम अगाडि नै उनीहरूलाई युनिफर्म दिनुपर्छ,’ एक जिल्लाका एसपी भन्छन्–‘अब पाँच दिन मात्र बाँकी छ, कसरी युनिफर्म दिने केही टुंगो छैन ।’

यस सम्बन्धमा गृह मन्त्रालयले हालसम्म निर्णय गरेको छैन । स्रोतका अुनसार उनीहरूलाई ड्रेसकोड तोकेर नगद नै दिई युनिफर्म किन्न लगाउने तयारी भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले म्यादी प्रहरीको ड्रेस खरिदका लागि समय अभाव भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

पाँच दिनअघिसम्म पनि सरकारले निर्णय नगरेकाले निर्णय गरेर बजेट बिनियोजन भई म्यादीको हातसम्म पुगेर पोसाक सिलाउन कम्तीमा एक साता लाग्ने देखिन्छ ।

गृहले समयमै योजना बनाएर काम नगर्दा यस्तो समस्या आएको हो । म्यादीलाई लठ्ठीसमेत अभाव रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

७५ जिल्लाबाटै म्यादी प्रहरीमा भर्नाको प्रक्रिया सुरु भइसकेको छ । म्यादीमा भर्ना हुन एक लाख ७२ हजार नौ सय ७६ जनाले आवेदन दिएका छन् ।

भर्ना भएकालेहरूले प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँ तलब पाउछन् । ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।