सीमित दलहरुको सिन्डिकेट भत्काउँछौंः नेता पराजुली

निर्वाचन कार्यालयमा धर्ना दिने निर्णय

काठमाडौं । नयाँ शक्ति पार्टी , नेपालका युवा विभाग प्रमुख देवेन्द्र पराजुलीले सीमित शासक दलहरुको सिन्डिकेट भत्काउनुको विकल्प नभएको बताएका छन ।

दलीय व्यवस्थामा दलीय चिन्हसहित जनताको बीचमा जान नपाउनेगरी सरकारले गरेको व्यवस्थाको विरुद्ध धारणा राख्दै नेता पराजुलीले भने–‘दलीय चिन्हसहित जनताको बीचमा जान पाउने स्वतन्त्रताको पक्षमा आवाज उठाउनुपर्छ ।’

संसदमा नरहने दललाई दलगत पहिचानसहित चुनाव चिन्ह नदिने व्यवस्था मान्य नहुने भन्दै नयाँ शक्तिले यसमा तत्काल संशोधन गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

चुनाव लड्न त पञ्चायती व्यवस्थामा पनि पाइन्थ्यो तर, दलीय प्रतिस्पर्धा र राजनैतिक स्वतन्त्रता थिएन, उनले भने–‘त्यसैले हामीले पञ्चायत फाल्यौं ।’ उनले केही शासक दलहरुले लोकतन्त्रको परिभाषा बदलेर सिन्डिकेट लगाउने कुत्सित प्रयास गरिरहेको बताए ।

बहुदलीय व्यवस्था आएपनि जनताका प्रतिनिधिहरु राज्यको प्रमुख बन्न नपाएकोले सबैको टाउकोमाथि बसेको राजतन्त्र फालेर गणतन्त्र ल्याएको उनले स्मरण गरे ।

तर बिडम्बना संसदमा रहेका पार्टी बाहेक अरुले दलीय चुनाव चिन्हमा चुनाव लड्न नपाउने रे,उनले प्रश्न गरे–‘लोकतन्त्रको परिभाषा नै बुझेनौ कि बदल्यौ कि सिन्डिकेट बनायौं ।

संसदमा रहेका दललाई मात्र दलगत चुनाव चिन्ह दिनु संविधान विपरित भएको भन्दै सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको नयाँ शक्तिले २० गतेबाट देशभरका निर्वाचन कार्यालयमा धर्ना दिने निर्णय गरेको नेता पराजुलीले जानकारी दिए ।