नेकपा एमाले संविधान संशोधन गर्न तयारः अध्यक्ष ओली

सबै दल एक भएपनि एमाले प्रतिस्पर्धा गर्न तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकार दिन र देश समृद्ध बनाउने हकमा संविधान संशोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

एमाले कास्कीले हिजो पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले संविधान साढे पाँच वर्ष लगाएर जनतासँग छलफल गरेर जारी गरेको बताए ।

सबै दल मिलेर आए पनि एमाले प्रतिस्पर्धा गर्न तयार

ओलीले सबै पार्टीको केन्द्रीय कमिटी बैठकमा एमालेलाई हराउन छलफल हुने गरेको दाबी गरे । हाल उनीहरूको ध्यान एमालेलाई अघि बढ्न नदिन विभिन्न जालझेल बुन्ने र एमालेलाई कसरी हराउन सकिन्छ भन्नेमा मात्र केन्द्रित रहेको उनको भनाइ थियो । ओलीले सबै दल मिलेर एक भएर चुनाव लडे पनि प्रतिस्पर्धा गर्न एमाले एक्लै तयार रहेको बताए ।

कांग्रेस बुढो बाह्रसिंगेजस्तो

ओलीले कांग्रेसलाई बुढो बाह्रसिंगेको संज्ञा दिए ।‘बाह्रसिंगे झाडीमा पसे उसको सिङ झाडीमा अल्झन्छ, अहिले कांग्रेसको सिङ पनि झाडीमा अल्झेको छ’–ओलीले भने ।

उनले वर्तमान सरकार कता जाने र के गर्ने भन्नेमा समेत कांग्रेसलाई केही थाहा नभएको दाबी गरे । नेपाल प्रहरीको आइजिपी, महालेखा परीक्षक, अख्तियार प्रमुख आयुक्त खाली हुँदासमेत नयाँ नियुक्ति गर्न नसकेको उनले बताए ।