अनुसन्धान पद्धति र वैज्ञानिक प्रस्ताव विकासमा जोड

पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा ‘अनुसन्धान पद्धति र वैज्ञानिक प्रस्ताव विकास’ विषयको कार्यशाला गोष्ठी शुक्रबारदेखि सुरु भएको छ ।

दुईदिने कार्यशालाको उद्घाटन समारोहमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा.इन्द्रप्रसाद तिवारीले अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगसँगै लैजान सके शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सकिने बताउँदै हरेक प्राध्यापकले अनुसन्धान गर्ने बानी बसाल्नु अपरिहार्य भएकामा जोड दिए ।

‘प्राध्यापकले एक वर्षमा एउटा अनुसन्धान लेख, प्रस्ताव तयार गर्नुका साथै कम्तीमा एउटा सेमिनारमा भाग लिनु आवश्यक छ’–उनले भने–‘नयाँ नेटवर्किङ, नयाँ विचारका साथ एउटा परिष्कृत अनुसन्धान लेख, प्रस्ताव प्रकाशित गर्न सकेमा मात्र उसको योग्यताको मापन हुन सक्छ ।’

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा कर्णवीर पौडेलले परीक्षामुखी पठनपाठनको जमाना गइसकेको उल्लेख गर्दै अनुसन्धानमुखी पठनपाठनले मात्र शिक्षक र विद्यार्थीको गुणस्तरमा सुधार आउन सक्ने बताए ।

स्वास्थ्य विज्ञान सङ्कायका डिन डा.खेमराज जोशीले प्राध्यापकको वृत्तिविकास र सद्भावनाका लागि अनुसन्धान एउटा महत्वपूर्ण कार्य होे ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक गुलाम मोहमम्मद खानले अनुसन्धान पद्धतिलाई विश्वविद्यालयले विशेष जोड दिँदै आएको बताउँदै अनुसन्धानले विश्वविद्यालयको छवि र शाखमा समेत बढोत्तरी हुने उल्लेख गरे ।

पोखरा विश्वविद्यालय स्कुल अफ विजनेसका स्कुल निर्देशक डा.रवीन्द्र घिमिरेले प्राध्यापकले आफ्नै कक्षाकोठाबाट अनुसन्धानको थालनी गर्नुपर्ने उल्लेख गर्दै यसका लागि विद्यार्थीलाई अनुसन्धान गर्न प्रेरित गर्न सक्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार पोखरा विश्वविद्यालयका ६२ महाविद्यालयका प्राध्यापक सहभागी कार्यशालामा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्रा.डा.विष्णुराज तिवारी र प्रा. नवीन श्रेष्ठ, त्रिविका प्रा.डा.राधेश्याम प्रधान र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक विकास केसीले सहजीकरण गर्नेछ । रासस