१० ब्रुमर खरिद गर्दै काठमाडौं महानगर

ब्रुमर खरिद गर्न टेन्डर आह्वान गरिँदै

काठमाडौं । महानगरपालिकाले सडकको धुलो सफा गर्न आगामी तीन महिनाभित्र १० वटा ब्रुमर मेसिन खरिद गर्ने भएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अर्थ मन्त्रालयको सहमतिमा तीन–चार महिनाभित्रै १० वटा ब्रुमर २५ करोड रुपैयाँमा आइसक्ने बताए ।

मेलम्ची खानेपानी र सडक विस्तारले उपत्यका धुलोमा परिणत भएको छ । यसबाट मुक्त गराउने महानगरको प्रयास हो ।

ब्रुमर खरिद गर्न  टेन्डर आह्वान गरिँदै

सार्वजनिक खरिद ऐनअनुसार खरिद गरिँदा ब्रुमर आइपुग्न केही समय लाग्ने महानगरपालिकाले जनाएको छ । ‘मेसिन खरिद गर्दा टेन्डर आह्वान गर्नुपर्छ । यसका लागि ३५ दिन त्यत्तिकै जान्छ । टेन्डर छान्दा अर्को महिना बित्छ, सोही कारण बु्रमर आउन ढिलो हुन सक्छ ।

तर, हाम्रो प्रयास जतिसक्दो चाँडो बु्रमर ल्याउने हो,’ पौडेलले भने । महानगरपालिकाका अनुसार महानगरपालिकाकै बजेटमा ब्रुमर खरिद गर्न लागिएको हो । महानगरसँग हाल करिब दुई अर्ब रुपैयाँ मौज्दात छ ।

महानगरपालिकाले यही रकमबाट बु्रमर खरिद गर्न लागेको हो । ब्रुमर खरिदका लागि महानगरले सरकारको सहमति भने लिनेछ ।

कार्यकारी अधिकृत पौडेलले भने–‘महानगरपालिकासँग तत्काल खर्च गर्नसक्ने गरी एक अर्ब रुपैयाँ बैंक मौज्दात छ । आर्थिक वर्षको अन्तिमसम्ममा अर्को एक अर्ब रुपैयाँ जम्मा हुनेछ । यही रकमले बु्रमर खरिद गर्ने हो । छिमेकी मुलुकबाट ब्रुमर खरिद गर्ने तयारी हुँदै छ ।’यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।