जंगी अड्डामा क्षेत्रीय सेमिनार हिजोदेखि सुरु

काठमाडौँ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भएको ‘शान्ति प्रयास तेस्रो’ अभ्यासअन्तर्गतको क्षेत्रीय सेमिनार हिजो काठमाडौंमा सुरु भएको छ ।

नेपाली सैनिक जंगी अड्डामा आयोजित सेमिनारको रक्षामन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् । नेपाली सेनाको आयोजना र अमेरिकी सेनाको प्यासिफिक कमान्डको सहयोजनामा भएको सेमिनार आजसम्म चल्नेछ ।

रक्षामन्त्री खाणले विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकले देखाएका उच्चस्तरको पेसागत दक्षता, कार्यकुशलता र अनुशासनले संयुक्त राष्ट्रसंघमा नेपालप्रतिको विश्वसनीयता बढ्दै गएको बताए ।

उनले राष्ट्रसंघबाट अनुरोध भई आएमा जस्तोसुकै परिस्थितिमा पनि नेपाल शान्ति स्थापना कार्यका लागि तयार रहेको बताए ।

सेमिनारमा सहभागी हुन बिहीबार आएका राष्ट्रसंघको अफिस अफ मिलिटरी अफेयर्सका सैन्य सल्लाहकार लेफ्टिनेन्ट जनरल कार्लोस हुम्बर्ट लोइटीले धारणा राखेका थिए ।

कार्यक्रममा रक्षासचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शंकरदास बैरागी, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त रथीबृन्द, नेपालस्थित विभिन्न मुलुकका सैनिक सहचारीलगायत नेपाली तथा विदेशी सेनाका अधिकृत सहभागी थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।