कुनै दल निर्वाचनमा नआएपनि चुनाव हुन्छः नेता पुन

मोर्चालेपनि चुनावको तयारी गरेको दाबी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

उनले आफ्नो पार्टीले एक्लै कोशिसका आधारमा चुनाव लड्ने तयारी गरेको भएपनि तालमेलको संभावना रहेको ठाउँमा आवश्यक परे अरु पार्टीसँगपनि तालमेल गर्ने जनाएका हुन ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले भने–‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिनेछ ।’

संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको बताउँदै भने,‘यो सरकारको पहिलो प्राथमिकता भनेको नै संविधान कार्यान्वयन गर्ने हो, त्यसको लागि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार अघि बढिसकेको छ।’

उनले मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको दाबी गरे । पुनले थपे–‘मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको छ, आफ्नो प्रभाव रहेको जिल्लामा कहीँपनि दल दर्ता गराउन छुटाएको छैन, बरु काँग्रेसको केही ठाउँमा छुटेको छ ।’

पुनले भने–‘बाबुराम भट्टराईजीको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम नेपालवीचपनि एकता हुँदैछ, यो राम्रो हो, विरगञ्जमा हालै व्यापारीहरु फोरममा प्रवेश गरेका छन्, उनीहरु आन्दोलन गर्नको लागि त पार्टी प्रवेश गरेका होईन नि, यो पनि चुनावको तयारी नै हो ।’

फरक प्रसँगमा उनले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजतन्त्र हटाईदिएकोमा यसले राप्रपालाई नै फाईदा पुगेको तर्क गरे ।

उनले भने–‘निर्वाचन आयोगको निर्णयले राप्रपालाइ त फाईदा नै पुगेको छ, चर्चामा आयो, जनतामा जानको लागि चर्चा चाहिन्थ्यो, तर निर्वाचन आयोगले नै एकैचोटि चर्चामा ल्याउने काम गर्यो ।’

उनले अहिलेको सरकारले सबैको कुरा सुन्ने भएकोले ज्ञानेन्द्रले गराएको चुनावसँग तुलना गर्न नहुने स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचनमा भाग नलिने र छुटेकाहरुलाई प्रदेश र केन्द्रको चुनावमा क्षतिपूर्तिसहित ल्याउने विश्वास दिलाए ।