मधेसी मोर्चाका साना तीन दलबीच एकता हुँदै,अन्य दलहरुपनि एकतामा आउने प्रयास

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका दलहरूले एकता प्रयास थालेका छन् । मोर्चामा सात दल आबद्ध भए पनि तत्कालका लागि तीन दलबीच मात्रै एकता हुने भएको छ ।

शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीचमा पार्टी एकीकरण चैत महिनाभित्रै हुने भएको हो ।

रामसपाका महासचिव केशव झाले पार्टी एकीकरणका लागि सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए । ‘पार्टी सञ्चालनका लागि अध्यक्ष मण्डलको निर्माण गर्ने, हाइलेबल कमिटी गठन गर्ने सहमति भएको छ’–झाले भने–‘पार्टी एकीकरण भएको ६ महिनाभित्र जिल्लाजिल्लामा अधिवेशन गर्ने र महाधिवेशन गरेर अगाडि बढ्ने तयारी भइरहेको छ ।’

तीन दलबीच पार्टी एकीकरणका लागि सातपटक बैठक बसेको थियो । मधेसी मोर्चामा रहेका सात दलबीच पार्टी एकीकरणको सम्भावना कम हुँदै गएका कारण तीन दलबीच पार्टी एकीकरण गर्ने काम अघि बढेको उनले बताए ।

त्यस्तै, तमसपाका वरिष्ठ नेता रामनरेश रायले पार्टी एकीकरणको पुष्टि गर्दै चैत महिनाभित्र तीनवटै दल एक हुने बताए । मधेसी, आदिवासी जनजातिको माग नै पार्टी एकीकरण गर्नुपर्ने रहेको बताउँदै उनले मधेसी मोर्चामा रहेका दलबीच पनि पार्टी एकीकरण हुनुपर्ने बताए । तर, नेताहरूको ‘अध्यक्ष’ पद लोभका कारण पार्टी एकीकरण हुन नसकेको रायले बताए ।

आपूm पनि कुनै दिन अध्यक्ष भएर पार्टी सञ्चालन गरे पनि पार्टी एकीकरण गरेर अगाडि बढ्ने प्रयास गरेको उनले बताए । अध्यक्ष पद नपाउने भएपछि मधेसवादी दलहरूले एकीकरण प्रक्रिया तोड्ने गरेको आरोप उनले लगाए ।

संसद्मा अहिले रामसपा र तमसपाको ३­÷३ र फोरम गणतान्त्रिकको १ सिट छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चामा रहेका सातवटै दलबीच पार्टी एकीकरण गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।

पहिलो चरणमा मधेसी मोर्चामा रहेका दलबीच पार्टी एकीकरण गरेर दोस्रो चरणमा मोर्चाबाहिर रहेका दलबीच पार्टी एकीकरण गरिने योजना रहेको उनले बताए ।

पहिलो चरणको पार्टी एकीकरण भएपछि दोस्रो चरणमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, जयप्रकाश गुप्ता, शान्ति प्रक्रियामा आइसकेका मधेसका भूमिगत संगठनलगायतसँग पार्टी एकीकरण गर्दै जाने रोडम्याप बनाएको सुमनको भनाइ छ ।

तर, संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसी मोर्चाबीच पार्टी एकीकरण गर्ने विषयमा ठोस छलफल नभएको बताए । विगतमा फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच पार्टी एकीकरणको प्रयास असफल रहे पनि अब एकीकरणको प्रयास पुन गरिने उनले बताए ।

विचार, सिद्धान्त, नीति मिल्ने पार्टीबीच एकीकरण गर्नुपर्ने जोड दिँदै उनले एकीकरणपश्चात् नेतालाई व्यवस्थापन गर्न समस्या हुने बताए ।

सैद्धान्तिक रूपमा भिन्नता नभए पनि नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने समस्याले दलहरूबीच एकीकरण हुन नसकेको उनले बताए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले विगतमा विभिन्न पार्टीसँग एकीकरण गरिए पनि मधेसी मोर्चाभित्र रहेका दलबीच पार्टी एकीकरणको वातावरण नबनेको बताए । उपयुक्त वातावरण बन्दै गएपछि पार्टी एकीकरण पनि हुँदै जाने उनले बताए ।

व्यवस्थापिका संसद्बाट राजनीतिक दलसम्बन्धी विधेयक पारित भएसँगै मधेसी मोर्चामा रहेका दलबीच एकीकरणको प्रयास सुरु भएको हो ।

राष्ट्रिय दल बन्न समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने व्यवस्थाले छुट्टाछुट्टै दलका रूपमा रहेका पार्टी एकीकरण गर्न तातेका हुन् ।

यसैबीच मधेसी जनता पार्टी र लोकतान्त्रिक पार्टी नेपालबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ । मजपाका अध्यक्ष महेश कलवार र लोकतान्त्रिक पार्टीका अध्यक्ष जीवन साहलगायत पदाधिकारीको बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेका हुन् ।

एकीकृत नयाँ पार्टीका अध्यक्ष कलवार रहने पार्टीको नाम र विधानका विषयमा छलफल गरेर छिट्टै पार्टी एकीकरणको घोषणा गरिने तयारी भइरहेको छ । यो समाचार आजको राजधानी दैंनिकमा प्रकाशित छ ।