निर्वाचनअघि संविधान संशोधन हुनुपर्नेः डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीले संघीय परिषद् बैठकमा निर्वाचनअघि संविधान संशोधन हुनुपर्ने, दलीय आधारमा चुनाव चिह्न पाउनुपर्ने अन्यथा निर्वाचन नै हुन नसक्ने बताएको छ।

नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचन अगाडि संविधान संशोधन अनिवार्य भएको तर्क गरेका छन् ।

कुनै पनि राजनीतिक पक्षलाई छोडर चुनाव गर्ने अवस्था अहिले मुलुकमा नरहेको निष्कर्ष नयाँ शक्तिको छ ।
संविधान संशोधनबिना हुने चुनावले देशको भलो नगर्ने र त्यस्तो चुनाव बलजफ्तीपूर्ण हुने भएकोले देशकोहित नगर्ने भनाइ भट्टराईको छ ।

संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका माग सम्बोधन,विशेष संरक्षित र स्वायत्त क्षेत्रसहितको राज्यको अग्रगामी पुनर्सरचना लगायतका सर्त पूरा गर्नुपर्ने भट्टराईको माग छ ।

भट्टराईले निर्वाचनका लागि आफ्नै पार्टीको चुनाव चिह्न अनिवार्य प्रयोग गर्न पाउनु पर्ने बताए । उनले पार्टीको चुनाव चिह्न प्राप्त गर्न नसक्ने अवस्थामा निर्वाचन हुन नदिने चेतवानी पनि दिए ।

भट्टराईले केन्द्र, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध, निर्वाचन खर्च र समयसीमालाई विचार गरेर एकैपटक निर्वाचन गराउनुपर्ने र प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षिय सरकार गठन गर्नुपर्ने माग गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।